Skip to content
Shikhar Insurance
National Life

परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’

Hyundai
NCELL
NIMB

बलेवा । जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गरिरहेको खानेपानीको मुहानदेखि जिल्लाका अधिकांश मुहानमा ‘कोलिफर्म’ भेटिएको कार्यालयले जनाएको छ । नगरमा वितरित पानीका धारामा भने ‘कोलिफर्म’को मात्रा शून्य छ । ट्याङ्कीमा पानीको उपचारका लागि क्लोरिन पाउडरको प्रयोग हुने भएकाले धारामा ‘कोलिफर्म’ नदेखिएको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले बताए ।

बागलुङ नगरपालिकाका १७ मुहानको पानी परीक्षण गर्दा १० वटा मुहानमा ‘कोलिफर्म’ देखिएको छ । जैमिनी नगरपालिकाका १० मुहानमध्ये सात, गलकोट नगरपालिकाका १२ मध्ये तीन, ढोरपाटन नगरपालिकाका सातमध्ये दुई, तमानखोला गाउँपालिकाका १६ मध्ये सात र बडिगाड गाउँपालिकाका नौमध्ये तीनवटा पानीको मुहानमै ‘कोलिफर्म’ भेटिएको हो ।

त्यस्तै निसीखोला गाउँपालिकाका आठमध्ये चार, तमानखोला गाउँपालिकाका ११ मध्ये चार र बरेङ गाउँपालिकाका १२ मध्ये चारवटा मुहानमा ‘कोलिफर्म’ भेटिएको आचार्यले बताए । स्वास्थ्य कार्यालयले स्थानीय तहको अनुरोधमा प्रतिनिधिमूलक हिसाबमा पानीका मुहानहरु परीक्षण गरेको थियो ।

“मुहानमा मात्रै होइन पाइपलाइन, ट्याङ्की र धारामा समेत ‘कोलिफर्म’को मिसावट पुग्न सक्छ,” आचार्यले भने, “कैयौँ ठाउँमा मुहानमा सफा रहेको पानी धारामा पुग्दा ‘कोलिफर्म’को मात्रा भएको भेटिन्छन् ।” उपभोक्ताको धारासम्म पुग्ने पाइपलाइन बीचमा टुटेफुटेर मिसावट हुने ठाउँ भएमा मुहान तथा ट्याङ्कीमा नभेटिएको ‘कोलिफर्म’ धारामा भेटिने जोखिम हुन्छ । खुल्लाचौरभन्दा तल्लो भागमा रहेका मुहान, मानव बस्तीको नजिकै रहेका मुहान र खोलामा बगेको पानीलाई एकीकृत गरेर ल्याइएका मुहानमा ‘कोलिफर्म’को मात्रा बढी देखिने गरेको छ ।

मानव दिशामा हुने ‘कोलिफर्म’युक्त पानी पिउँदा हैजा, झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, हेपाटाइटिस रोगहरुको संक्रमण हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । ‘कोलिफर्म’ देखिएका मुहानको पानी उपभोग गर्ने उपभोक्तालाई सरसफाइ गर्न, पानी शुद्धीकरण गरेर र पानी उमालेर मात्रै पिउन आग्रह गर्ने गरिएको छ । ‘कोलिफर्म’को मात्रा देखिएका ठाउँहरुको पानीलाई तत्काल शुद्धीकरणका उपाय नअपनाए जुनसुकै बेला महामारी फैलिन सक्ने उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्