बन्दीपुर । बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन् ।
उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले रु एक लाख ५० हजारमा च्याउखेतीका लागि तालिम, बीउबिजन, प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री उपलब्ध गराएको थियो । गत पुसमा तालिम लिएपछि २४ किसानले ३.६ मेट्रिक टन च्याउ उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका कृषि शाखाका अभिषेक भट्टराईले जानकारी दिए ।
उनीहरूले उत्पादन गर्न थालेको च्याउ स्थानीय बजारमा खपत हुँदै आएको छ । च्याउबाट लक्षित गरिएको उत्पादन हुँदा ७ लाखसम्म आम्दानी किसानले गर्न सक्ने भट्टराईको भनाइ छ । तालिमपछि च्याउखेतीतर्फ लागेकी बन्दीपुर गाउँपालिका–५ फलामडाँडाकी सपना गुरुङले ६ हजार बराबरको च्याउ बेचेको बताइन् ।
उत्पादित च्याउ गाउँमै बिक्री भएको र घरखर्च चलाउन सहयोग पुगेको उनको धारणा छ । गाउँमा सामान्य खेती किसानीमात्र गर्दा जीविकोपार्जनमा गाह्रो भएको सुनाउँदै गुरुङले कम मेहनतबाट पनि नगद आम्दानी गर्न सकिने बताइन् । पर्याप्त च्याउ उत्पादन गरेर अन्य ठाउँमा बिक्री गर्ने उनको योजना छ ।
यस्तै, बन्दीपुर–६ केराबारीकी धनकुमारी गुरुङले तालिमबाट आफूले धेरै कुरा सिकेको र भविष्यमा थप लगानी गरेर व्यावसायिक च्याउखेती गर्ने सोच बनाएको बताउनुभयो । तालिम लिएका किसानले कन्य च्याउखेती गरेका छन् ।
कन्य च्याउ ढुसी धागोजस्तो मसिनो र सेतो रङको हुन्छ । यो च्याउखेती धानको पराल वा गहुँको छवालीमा गर्न सकिन्छ । गर्मी र जाडो दुवै मौसममा गर्न सकिने यो खेतीबाट किसानले पर्याप्त लाभ लिन सक्छन् । एक किलो परालबाट सरदरमा पाँच सय देखि छ सय ग्रामसम्म च्याउ उत्पादन गर्न सकिन्छ ।
बन्दीपुर गाउँपालिका–३ की चन्द्रकला भट्टराईले आम्दानीको सम्भावना देखेर तालिम लिई च्याउखेती गर्न थालेको बताइन् । उनले आफूले सिकेको ज्ञान र सीप गाउँका अन्यलाई पनि बाँड्ने गरेको बताइन् । च्याउ उत्पादन गरेर बन्दीपुरका होमस्टेमा बस्ने पाहुनालाई खुवाउने योजना बनाएको भट्टराईले बताइन् ।
यस क्षेत्रमा च्याउखेती गर्नेमा अधिकांश महिला छन् । घरायसी कामसँगै आम्दानी पनि हुने भएपछि च्याउ उत्पादनमा संलग्न भई आत्मनिर्भर बन्ने दिशामा उनीहरु अग्रसर भएका हुन् । उत्पादित च्याउ बजारमा बिक्री गर्न सहजीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
उत्पादित च्याउ जिल्लाको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरका होटल तथा रेष्टुरेन्ट, डुम्रे बजार, दमौलीलगायत क्षेत्रमा लैजान गाउँपालिकाले पहल गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्