काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गरेका छन् । बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो अनविज्ञता प्रकट गरेका हुन् ।
केही दिनअघि संसदको गतिरोध केही दिनभित्रै अन्त्य हुने बताएका अध्यक्ष दाहालले दुई बितिसक्दा समेत संसद सुचारु हुने वा नहुने भन्नेबारेमा अनविज्ञता दर्शाए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन् ।
करिव दुई हप्ता बित्न लाग्दा समेत सदन सुचारु हुन सकेको छैन । जसबारेमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा अध्यक्ष दाहालले अब पुन: संसद भवनमा विपक्षी दलहरुको बैठक बस्ने र निर्णय गर्ने बताए । उनले भने, ‘सदनको बारेमा छलफल हो । अहिले फेरि हामी प्रतिपक्षीको बैठक बस्दैछौँ । प्रतिपक्षको बैठक बसिसकेपछि थाहा हुन्छ के गर्ने भनेर ।’
अध्यक्ष दाहालले प्रतिपक्षको बैठकपछि मात्रै सदन सुचारु हुने वा अवरोध कायमै रहने भन्ने टुंगो लाग्ने र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग संसदको अवरोधको बारेमा नै छलफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस्