Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकले कहाँ लगानी गर्छ १७ अर्ब ६३ करोड डलर?, ‘बिचमा एजेन्ट खडा गरेर अपारदर्शी काम गरेको आरोप’

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत मशान्तसम्ममा १७ अर्ब ६३ करोड अमेरिकी डलर संचिति छ ।

यसलाई नेपाली रुपैयाँमा परिमार्जन गर्दा २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ हुन आउँछ । देशलाई आवश्यक पर्ने विदेशी मुद्राको जोहो गरी बाँकी रहेको रकम राष्ट्र बैंकले अमेरिका सिंगाहापुर लगायत देशमा लगानी गर्ने गर्छ । यसरी लगानी गर्दा हुने आम्दानीमा पारदर्शीता नभएको भन्दै महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

राष्ट्र बैंकले डलर लगानी गर्नका लागि बिचमा एजेन्ट खडा गरेको र न्युन आम्दानी हुनेगरी मात्रै लागनी गर्दा शंका उत्पन्न भएको महालेखा परिक्षक कार्यालयको निष्कर्ष छ । राष्ट्र बैंकले प्रयोग गर्ने वैदेशिक मुद्राको आम्दानी पारदर्शी नभएको भन्दै महालेखाले प्रश्न उठाएको हो । महालेखा परिक्षक कार्यालय स्रोतका अनुसार राष्ट्र बैंङ्कले डलरबाट प्राप्त हुने आम्दानी गोलमाल छ ।

स्रोतले सिंहदरबारसँग भन्यो, “राष्ट्र बैंकले डलर लगानीबाट प्राप्त गर्ने आम्दानीमा कैफियत देखिएको छ, पारदर्शीताकै अभावबाट धेरै लगानीबाट कम मात्रै आम्दानी हुने गरेको छ । यो विषय राष्ट्र बैंकका सिमित व्यक्तिलाई मात्रै जानकारी छ । बिचमा एजेन्ट खडा गरी न्युन दरमा डलर लगानी गर्नु नै मुख्य शंका गर्ने विषय हो । यो विषयलाई सुधार गर्न हामीले प्रतिवेदनमा प्रश्न उठाएका छौं ।”

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा बिचौलियाहरु लाग्नुको कारण नै यस्तै अपचलन भएको दाबी स्रोतको छ । स्रोतले थप्यो, “डलर लगानीबाट मात्रै केहि अर्ब रुपैयाँ विदेशमै सेटलमेन्ट गर्न सक्ने देखियो, अन्य विषय त कति छन् कति गभर्नर नियुक्ति लम्बिनुको कारण नै यस्तै खाले विषय भएको स्पष्ट बुझ्न सकिन्छ ।”

महालेखाको आरोपको विषयमा राष्ट्र एक बरिष्ठ चार्टर एकाउन्टेनसँग सिंहदरबार डटकमले कुरा गर्दा महालेखाले कुन एङगलबाट हेर्यो भन्ने विषय महत्वपुर्ण हुने बताए । नाम उल्लेख नगर्ने शर्तमा ती सिएले भने, “मैले पनि धेरै वर्ष अघि राष्ट्र बैंकको अडिट गरेको हुँ, राष्ट्र बैंकले आफू सुरक्षित हुनका लागि कम दरमा सम्झौता गरेको हुन सक्छ तर सोहि विषयलाई महालेखाले माथिल्लो साइटबाट हेरेको हुन सक्छ । अर्थात जोखिम अनुसारको प्रतिफल बढि प्राप्त गर्न सक्छ ।”

ती सिएका अनुसार डलर बाहेका वैदेशिक मुद्रा बिक्री गर्न भने राष्ट्र बैंकले एजेन्ट खडा गर्न सक्छ । तर त्यसमा धेरै फरक पर्दैन ।

कसरी लगानी गर्छ राष्ट्र बैंकले डलर

राष्ट्र बैंकले डलर लगानी गर्ने एक कार्यविधि बनाएको छ । सो कार्यविधि आन्तरिक प्रयोजनका लागि मात्रै प्रयोग हुन्छ । सो कार्यविधि अनुसार राष्ट्र बैंकमा रहेको ६० प्रतिशत डलर लगानी गर्न पाउनेछ । यसरी डलर लगानी गर्दा कम जोखिम भएको मुलुकमा मात्रै प्रयोग गर्नुपर्छ । यसरी डलर लगानी गर्नका लागि राष्ट्र बैंकले छुट्टै युनिट खडा गरेको छ । जसमा २४ सै घण्टा कर्मचारीहरुले काम गरिरहेका हुन्छन् । राष्ट्र बैंकका अनुसार यसरी डलर लगानी गर्न २/३ सिफ्टमा कर्मचारी राखेर रियल टाइम लगानी गर्ने गरिन्छ । यसरी लगानी गर्दा सर्ट टर्म, मिड टर्म र लङ टर्मका लागि लगानी गर्ने गरिन्छ । दीर्घकालिन लगानीबाट धेरै आम्दानी गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।

डलर लगानी गर्ने कर्मचारीहरुलाई लगानीको लागि मापदण्ड तोकिएको छ । थोरै डलर  गर्नका लागि कर्मचारीले नै निर्णय गरी लगानी गर्न सक्छ । यस्तै, लगानीको आकार बढ्दै जादा अनुमति लिनुपर्ने ओहोदा पनि बढ्दै जान्छ । राष्ट्र बैंकको निर्देशक, डेपुटी गभर्नर हुँदै गभर्नरसम्म निर्णयका लागि पुग्ने गर्छ ।

राष्ट्र बैंकका एक निर्देशकले सिंहदरबारसँग भने, “राष्ट्र बैंकले विदेशी मुद्रालाई आम्दानीको रुपमा कहिले पनि हेर्दैन, यसको मुल उदेश्य भनेको देश बाहिरबाट आयात हुने बस्तु तथा सेवाको भुक्तानी सन्तुलन मिलाउनु हो । कुनै समय ६ महिना भन्दा कम आयात गर्न पुग्ने संचितिबाट अहिले १७ महिनाको संचितिमा पुगेको छ । बढि भएको डलर लगानी गर्न गर्न राष्ट्र बैंक ऐन बमोजिम नै मापदण्ड बनेको छ। महालेखा परिक्षकको कार्यालयले मापदण्डमा प्रश्न उठाउन सक्ला तर अन्य विषय प्रश्न गर्न सक्दैन।”

ती निर्देशकका अनुसार मापदण्डले नै डलरको लगानी उच्च सुरक्षित हुने स्थानमा मात्रै लगानी गर्न भनेको छ । उनले थपे, “केहि समयअघि नेपालले गरेको जस्तै रेटिङ अन्य देशले पनि गरेको हुन्छ, सो रेटिङमा डबल ए प्लस (AA+) रेटीङ प्राप्त देशमा मात्रै लगानी गर्न पाइन्छ, अब न्युन जोखिम भएको मुलुकमा मात्रै हामीले लगानी गर्ने हो पैसा त श्रीलंकमा लगानी गर्दा धेरै पाइन्छ नि तर त्यसको जोखिम पनि बढि हुन्छ ।”

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको ९ महिनामा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको छ । यसरी हेर्दा प्रति महिना सरदर १ खर्ब ४५ बराबरको आयात हुने गरेको छ । राष्ट्र बैंकले न्युनतम ७ महिनाको आयात धान्न पुग्ने डलर संचिति गरेर अन्य डलर लगानी गर्ने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्