Skip to content
Shikhar Insurance
National Life

हकप्रदका नाममा लाखौं लगानीकर्ता फसाउँदै गार्डियन माइक्रो लाइफ, अजोडलाई रोकेको प्राधिकरण के गर्छ ?

Hyundai
NCELL
NIMB

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले उक्त प्रस्ताव पारितको लागि २०८२ वैशाख ५ गते विशेष साधारण सभा बोलाएको छ । तर व्यापार गर्न नसकेर थलिएको कम्पनीले फेरी पूँजी वृद्धिको योजनालाई लगातार अगाडी बढाइ रहेको छ । यो त सरासर दोस्रो बजारमा चलखेल गर्न लागेको भन्ने बुझ्न सकिन्छ ।

कम्पनीले गत मंसिरमा वैदेशिक रोजगारमा रहेका नेपालीको लागि आइपीओ निष्कासन गरेको थियो भने सर्वसाधारणको लागि कम्पनीले पुस २१ गतेदेखि आइपीओ निष्कासन गरेको थियो । उक्त सेयर बाडँफाड भएर नेप्सेमा माघ २४ गते सूचीकृत भएको थियो । कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज ३ सय १ रुपैयाँ रहेको थियो ।

नेप्सेमा सूचीकृत भएपछि कम्पनीको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको थियो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार पुगेपछि सकारात्मक सर्किट लाग्न छोडे पनि कम्पनीको सेयर मूल्य बढ्न भने छोडेको छैन।

चैत १३ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार २ सय ८६ रुपैयाँ रहेको थियो भने चैत २८ गते बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ५ सय ६४ रुपैयाँ पुगेको छ । यही मूल्यबाट थाहा पाउँन सकिन्छ कि दोस्रो बजारमा कम्पनीको सेयरमा कति चलखेल भएको छ ।

कम्पनीको सेयर मूल्य वृद्धि भएपनि आम्दानी भने बढ्न सकेको छैन । गार्डियन माइक्रो लाइफले जस्तै नेपाल बीमा प्राधिकरणले २०७७ सालमा अजोड इन्स्योरेन्सले पनि हकप्रद सेयर ल्याउँछु भन्दा रोकेको थियो । अहिले कायम रहेको चुक्ता पुँजीका लागि नै पर्याप्त व्यापार गर्न नसकेको, लगानीकर्तालाई लाभांश दिन नसकेको अवस्थामा हकप्रदबाट पुँजी थप्ने योजना गलत हो भन्दै प्राधिकरणले तत्कालिन अजोडको हकप्रद रोकेको थियो ।

नेपाल धितोपत्र बोर्डले त झन् इन्साइडर कारोबार गरेको आशंकामा छानविन पनि गरेको थियो । तर त्यतिबेलाको शक्ति सन्तुलनका कारण छानविन प्रतिवेदन भने लुकाएर राखियो ।

अहिले त झन् गार्डियनले आइपीओ जारी गरेर भर्खरै चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुर्याएको छ । अझै केहि वर्ष व्यापार बढाउन संघर्ष गर्नुपर्ने अवस्था देखिन्छ । तर पनि कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न खोजि रहेको छ ।

उता, कम्पनीको चैत ११ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट मर्जरमा जाने प्रस्ताव पारित गरिसकेको छ । त्यस्तो अवस्थामा कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गर्नु भनेको दोश्रो बजारमा मूल्य चलखेल गर्नु बाहेक केहि देखिन्न ।

त्यति मात्रै होइन, कम्पनीको चैत १८ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गर्नु केहि दिन अघि देखि कम्पनीको सेयर मूल्यमा लागातार भारी वृद्धि भैरहेको र अधिकांश दिन त सकारात्मक सर्किटको लेभलमै बढेको देखिन्थ्यो ।

दोस्रो बजारमा हकप्रद सेयरको नाममा चलखेल भएको हो तथ्य र प्रमाण नहेरी केहि भन्न नसक्ने धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले बताए । उनले सिंहदरबारसँग भने, “हकप्रद सेयरमा कुनै ठुला लगानिकर्ताले पैसा हाल्छौं भन्यो भने हामीले रोक्न मिल्दैन र दोश्रो बजारको मूल्य श्रृंखलामा चलखेल भएको हो भने अध्ययन गरेर कारबाही प्रकृया अगाडी बढाउँछौं’ ।”

कुनै पनि कम्पनीले हकप्रदको नाममा दोस्रो बजारमा प्रभाव पर्ने गरि सेयर मूल्य बढाएको छ भने कारबाही हुने उनले बताए ।

उनले थपे‘कुनै पनि कम्पनीमा कसैले पनि बजारमा प्रभाव हुने गतिविधी गरेको छ भने बोर्डले कारबाही गर्छ तर स्वभाविक कारोबार भई रहेको छ भने हामीले केही गर्न मिल्दैन’ । कम्पनीको बारेमा थप अनुसन्धान गर्ने उनले बताए ।

उता बीमा प्राधिकरणले भने कम्पनीलाई पत्र काटिसकेको छ । कम्पनीलाई पत्र काटेर हकप्रद सेयर निष्कासनबारे प्रश्न सोधिएको प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता शुशिलदेव सुवेदीले बताए । उनले भने, “हामीले कम्पनीलाई हकप्रद निष्कासनको विषयमा पत्राचार गरिसकेका छौं, कम्पनीबाट विवरण प्राप्त भएपछि थप प्रकृया अघि बढाउँछौं ।”

यस्तो छ हकप्रद निष्काशन सम्बन्धी कानुनी व्यवस्था ?

कम्पनीको हकप्रद सेयर जारी गर्ने सम्बन्धि व्यवस्थामा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २ को (म) मा संगठित संस्थाले निष्काशन गरेको कुनै धितोपत्र साबिकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले खरिद गर्न पाउने गरी राखिएको प्रस्तावलाई हकप्रद निष्कासनको रूपमा परिभाषित गरेको पाइन्छ । सेयर निष्कासन पाउने अवस्था सम्बन्धी प्रावधान धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा गरेको देखिन्छ ।

उक्त नियमावलीमा धितोपत्रको हकप्रद निष्काशन सम्बन्धी व्यवस्था अन्तर्गत नियम १७ (१) मा संगठित संस्थाले तोकेको मितिमा कायम रहेका शेयरधनीलाई धितोपत्र जारी गरी पूँजी बढाउने भएमा धितोपत्रको हकप्रद निष्कासन गर्न सक्ने, १ (क) मा संगठित संस्थाको संचालक समितिबाट हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय भएको बढीमा दुई महिनाभित्र उक्त प्रस्ताव साधारण सभामा पेश गर्नुपर्ने र (१) ख संगठित संस्थाले साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको दुई महिना भित्र आवश्यक कागजात तथा विवरण सहित बोर्डमा निवेदन दिनु पर्ने जस्ता व्यवस्था गरेको पाइन्छ ।

त्यस्तै, यस सम्बन्धी थप व्यवस्था धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा समेत हकप्रद सेयर जारी सम्बन्धमा लागि क्षेत्रगत रूपमा जसमा वित्तीय क्षेत्र र गैर वित्तीय क्षेत्रका लागि फरक फरक मापदण्ड व्यवस्था गरेको देखिन्छ ।

जसमा बैङ्क, वित्तीय वा बीमा क्षेत्रका लागि निर्देशिकाको दफा १२ मा हकप्रद शेयर निष्काशनका लागि पूरा हुनु पर्ने अवस्था अन्तर्गत उप दफा २० मा सङ्गठित संस्थाले एक आर्थिक वर्षमा एकपटक मात्र हकप्रद शेयर निष्काशन गर्न सक्नेछ ।

यसरी हकप्रद सेयर निष्कासन गर्दा पछिल्लो पटक निष्काशन गरेको शेयरहरू धितोपत्र बजारमा सूचीकरण भएको मितिबाट एक सय असी दिन पूरा भएको हुनु पर्नेछ । तर नियमन निकायको निर्देशन बमोजिम पूँजी बृद्धि गर्नु पर्ने अवस्थामा यो व्यवस्था लागू हुने छैन भन्ने व्यवस्था गरेको देखिन्छ । उप दफा (३) मा सङ्गठित संस्थाले आफ्नो व्यवसायसँग सम्बन्धित नियमन व्यवस्थाका कारण हकप्रद शेयर जारी गर्नु पर्ने भएमा सोही बमोजिमको कारण खुलाई साधारण सभाबाट हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हुनु पर्ने, उप दफा (९) सङ्गठित संस्थाले साधारण सभाबाट हकप्रद शेयरको निष्काशन गर्ने निर्णय गरेको दुई महिना भित्र बोर्डमा निवेदन दिनु पर्ने र उप दफा (१) मा सङ्गठित संस्थाले साधारण सभाबाट हकप्रद सेयरको निष्कासन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्