काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन भन्दै जेठ २२ गते बिहिबारका दिन साँझ ५ बजे सञ्चालक समिति बैठक डाकेका थिए । अध्यक्ष श्रेष्ठले स्टकको लाइसेन्स दिन भन्दै एकल एजेण्डा राखेर सञ्चालक समिति बैठक डाकेको यो दोश्रो पटक थियो ।
५ बजेका लागि डाकिएको बैठक करिब ५:३० बजे सुरु भएको थियो ।
राति ८:३० बजेसम्म चलेको बैठकमा सुरुवात बाटै तनाबको वातावरण बनेको थियो । बोर्डको सहायक प्रवक्ताको जिम्मेवारीमा समेत रहेका निर्देशक तोलाकान्त न्यौपानेले नयाँ स्टक एक्सचेञ्ज दिनुपर्ने अध्ययन समितिको निष्कर्ष र लाइसेन्स कसरी दिने भन्नेबारे विस्तृत प्रस्तुतिकरण दिएका थिए ।
न्यौपानेको प्रस्तुतिपछि बोर्ड सदस्यहरुलाई धारणा राख्न भनिएको थियो । नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट बोर्डमा सञ्चालक बनेका गोकर्णराज अवस्थीले नयाँ स्टकलाई लाइसेन्स अहिले र यसरी किन दिनु पर्यो ? लाइसेन्स नदिँदा देश डुब्छ ? भन्दै प्रश्न गरेका थिए ।
अवस्थीले कुनै हालतमा लाइसेन्स दिन नसकिने र आफुले नोट अफ डिसेन्ट लेख्ने भनेपछि अध्यक्ष श्रेष्ठ आक्रोशित बनेको स्रोत बताउँछ । अध्यक्ष श्रेष्ठसँगै अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक रहेका सहसचिव महेश बरालले पनि अवस्थीलाई लाइसेन्स किन रोक्न खोजेको हो ? भन्दै प्रश्न गरेको स्रोत बताउँछ । कानुन मन्त्रालयबाट बोर्डमा सञ्चालक बनेका सहसचिव बिनोद कुमार भट्टराईले पनि नयाँ स्टकको लाइसेन्स रोक्न नहुने भन्दै दबाव दिएका थिए ।
अघिल्लो दिनसम्म नयाँ स्टकलाई लाइसेन्स दिनुपर्छ भन्दै प्रस्तुत हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपाल भने बिहिबारको बैठकमा केहि नम्र सुनिएको स्रोत बताउँछ । नेप्सेमा राष्ट्र बैंकको ९.५१ प्रतिशत सेयर रहेको र सो सेयरलाई नकारात्मक असर पर्ने गरि नयाँ स्टकको लाइसेन्स दिने प्रक्रियामा सामेल हुँदा अख्तियार दुरुपयोगको मुद्धा लाग्न सक्ने देखिएपछि नेपाल बिहिबारको बैठकमा केहि नम्र सुनिएको स्रोत बताउँछ ।
आईक्यानका तर्फबाट बोर्डमा सञ्चालक रहेका निल सारु मगर र विज्ञ सञ्चालक भोला ढुंगानाले भने बिचको बाटो रोजेका थिए । अन्य सञ्चालकहरु सहमत भएको अवस्थामा कुनै विमति नराख्ने तर विवादका बिच अघि बढ्न नहुने भन्दै उनीहरुले बिचको धारणा राखेको स्रोतहरुको दावी छ ।
अर्काे तर्फ, बिहिबार नै नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिएर राज्यलाई साढे २७ अर्ब रुपैयाँ नोक्सानी पुर्याउन लागिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । बोर्ड बैठक सुरु हुनु अघि नै अख्तियारमा उजुरी परेको सूचना पुगेपछि माहोल केहि फेरिएको बताइन्छ ।
बिहिबारको बोर्ड सञ्चालक समितिको बैठकमा के के भयो ? भन्ने सिंहदरबारको प्रश्नमा सञ्चालक समिति सदस्य गोकर्ण अवस्थीले भने–‘बोर्ड बैठकमा के के भयो भन्ने बिषय प्रक्रिया मार्फत प्रवक्ताले भन्नु हुनेछ, हामीले केहि बोल्न मिल्दैन् ।’
स्रोतका अनुसार गोकर्ण अवस्थीको नोट अफ डिसेन्ट लेख्ने चेतावानी, अख्तियारमा सरकारलाई २७ अर्ब ५० करोड नोक्सानी पुर्याउन लागिएको उजुरी, राष्ट्र बैंकका प्रतिनिधीको फरकपन, आइक्यान र विज्ञ सदस्यको धरमरले बिहिबारको बोर्ड बैठक कुनै पनि निर्णय नगरि सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्