काठमाडौं । नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिएका छन् । मंगलबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले समानुपातिक सांसदहरुलाई सरकारले हेपेको बताएका हुन् ।
उनले ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु रहेको र समानुपातिक सांसदलहरुले चाहेको खण्डमा बजेट पास हुनबाट रोक्नसक्ने चेतावनी दिए ।
गिरिजाप्रसाद कोईराला, पुष्पकमल दाहाल, माधव नेपाल पनि कुनैबेलामा समानुपातिक नै रहेको उदाहरण दिँदै उनले बोल्नेहरुलाई मात्रै योजना दिने तर समानुपातिक सांसदहरु अनुशासित रुपमा बस्दा योजना नदिने गरेको बताए ।
संविधानअनुसार समानुपातिक खारेज गर्ने भए आफूहरु तयार रहेको बताए ।
उनले भने, ‘हामी ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु छौँ । संविधानमा यो समानुपातिक खारेज गर्ने हो भने हामी ११० जना यो समानुपातिक हटाउन पनि तयार छौँ । होइन भने गिरिजाबाबु पनि समानुपातिक हुनुहुन्थ्यो । प्रचण्ड पहिलो गणतन्त्रको प्रधानमन्त्री पनि समानुपातिक हुनुहुन्छ । माधव नेपाललाई हामीले तानेर समानुपातिकबाट प्रधानमन्त्री बनायौँ । बोल्नेहरुको ठाउँमा मन्त्री आफैँ गएर योजना दिने अनि हामीलाई समानुपातिक भन्ने ? हामी राजनीतिक र अनुशासित ढंगले मात्रै बजेट पास गर्दैछौ, तपाईंहरुको हेपाई हेर्ने हो भने पास हुन रोक्न सक्छौँ ।’
‘हाम्रा औंठाले तपाईंहरु झण्डा हल्लाउने, कि त संविधानअनुसार समानुपातिक खारेज गर्नुपर्यो । म त यो समानुपातिकबाट तानेर नल्याउँ भन्ने मान्छे हो । पार्टीले खटाएर कोही समानुपातिक छौँ कोही प्रत्यक्ष छौँ । पहिला राणा चार किसिमका थिए, अहिले सांसदहरु त सात किसिमका छौँ । उनीहरुसँग मन्त्री आफैँ गएर योजना माग्छन् । मन्त्रीज्यु, सभापतिज्यु भनेर आउँछन् । २५ जना मन्त्री बि क्लासका राणा । प्रत्यक्ष १६५ जना सि क्लासका राणा । अलिकति हाँहाँ हुँहुँ गर्ने सांसद डि क्लासका । समानुपातिक इ क्लसका । राष्ट्रिय सभा एफ क्लासका । भूगोल छैन, हामी अन्तरिक्षका हौँ र समानुपातिक । किन विभेद गरिएको ?’ उनले भने ।
सांसद शाहीले सभापति लगायत, संसदीय दलका नेता लगायत पार्टीका अध्यक्षहरु ए क्लास, २५ जना मन्त्री बि क्लास, प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सि क्लास, चर्को बोल्नसक्ने डि क्लास, समानुपातिक इ क्लस र राष्ट्रिय सभा एफ क्लासका राणा भएको बताए ।
समानुपातिक सांसदहरु अर्को अन्तरिक्षबाट नआएको भन्दै किन विभेद गरेको भन्ने उनको प्रश्न छ ।
प्रतिक्रिया दिनुहोस्