काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले थुनुवा र कैदीबन्दीको मानव अधिकार हनन हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।
उनले थुनुवा तथा कैदीबन्दीहरुमाथि कुनैपनि मानवअधिकार हनन हुने कार्य सररकारले नगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सीमित स्रोत साधनमा कैदीबन्दी तथा थुनुवाको व्यवस्थापन गर्नुपर्ने समस्या सरकारले उचित रुपले सम्बोधन गर्ने बताए ।
उनले पछिल्लो समय नुवाकोटमा नयाँ कारागार निर्माण भएर सञ्चालनमा आएको बताउँदै देशभरका पुराना कारागारहरुको भौतिक सुधारका लागि सरकारले पहल गरी रहेको बताए ।
उनले भने, ‘कुनैपनि हिरासतको मानिस थुुनुवा, कैदीबन्दीलाई कुनै अमानवीय व्यवहार गर्ने, निर्मम व्यवहार गर्ने, अथवा मानवअधिकारको हनन् गर्ने ढंगले काम गर्ने कुरा हुँदैन त्यसको ग्यारेन्टी हामी गर्छौँ, सरकारले ग्यारेन्टी गर्छ । कुनैपनि व्यक्तिको मानव अधिकार हनन गर्ने कुरा हुँदैन । तर अलिकता सीमित स्रोत साधनमा काम चलाउनुपर्ने केही समस्याहरु छन् यसका विषयमा पनि हामीले विशेष ध्यान दिएका छौँ । र यसमा हामी सुधार गछौँ । भौतिक सुधार गर्छौँ । केही कारागारहरु थप निर्माण गर्ने, जस्तो पछिल्लो अवस्थामा नुवाकोटको कारागार प्रचलनमा आएको छ । र त्यहाँ केही मान्छे थप्न सकिने अवस्था छ । जहाँ बढी कैदीहरु हुनुहुन्छ त्यहाँका बन्दीलाई नुवाकोटमा लगेर राख्नका लागि कारागार व्यवस्था विभागले काम गरी रहेको छ । हिरासतमा रहेका मानिस, कारागारमा थुनुवाका रुपमा रहेका वा कैदीबन्दीका रुपमा रहेका मानिसको मानवअधिकारको पूर्ण सुरक्षा गन्छि, त्यसका बारेमा हामी गम्भीर छौँ,सचेत छौँ र गर्छौँ ।’
त्यसैगरी, गृहमन्त्री लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताउँदै विवाहको उमेर १८ वर्ष बनाउने वा रोमियो जुलियट ल इण्ट्रड्युक्स गर्नेबारे छलफल भइरहेको बताए । ‘रोमियो जुलियट ल’ मा १६ देखि १८ वर्षबीचको उमेरमा शारीरिक सम्बन्ध भयो भने प्रेम सम्बन्धका रुपमा व्याख्या गरी विभिन्न देशमा अभ्यास पनि भइरहेको उहाँको भनाइ छ ।
उनले भने, ‘मन्त्रिपरिषद्मा बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक तयार भएको छ । त्यो संशोधन विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर हामी छलफल गरी रहेका छौँ । हजुरहरुको पनि धारणा त्यसअनुरुप आएको हुनाले अब यसमा दुई वटा उपाय छन् । दुई वटा उपाय के छ भने एउटा विवाहको उमेर घटाउने कुरा छ, यस्लाई १८ मा लैजाऔँ भन्नेकुरा छ र अर्को चाहिँ इन्टरनेश्नल प्राक्टिस चाहिँ रोमियो जुलियट ल इन्ट्रड्युक्स गर्ने हो कि भन्ने पनि छ । धेरै ठाउँमा त्यो कानूनलाई एप्लाइ गरेको छ । रोमियो जुलियट लले के भन्छ भने जस्तो १८ वर्षको विवाहको उमेर तोक्यो मानौँ, १६ वर्ष र १८ वर्षको बीचमा पनि उनीहरुको शारीरिक सम्बन्ध भयो भने त्यसलाई पनि रेप आदि इत्यादि मान्नु मिल्दैन है यो त एक्स्क्युजएबल हो, एउटा प्रेमवत सम्बन्धले त्यो ठाउँमा पुर्यायो भन्ने खालको कन्सेप्ट रोमियो जुलियट लमा छ र केही देशले यो एप्लाइ गरेका छन् ।’
गृहमन्त्री लेखले समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्