काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हिमतालहहरुको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताएका छन् । सोमबार ललितपुरमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए । यसका लागि आवश्यक प्रवन्ध मिलाउन सचिवहरुलाई निर्देशन दिए । उनले हिमताल फुटेपछि विकराल समस्या आउने भन्दै यसमा समयमै ध्यान दिनुपर्ने बताए ।
उनले यिनै समस्या समाधानका लागि सरकारले संसदबाट जलश्रोत विधेयक चाँडै पारित गर्ने तयारी गरेको बताउँदै जलवायु परिवर्तनका असर न्युनिकरण गर्दै जलश्रोतको दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरुसँग सहकार्य गरी नेपालका जलश्रोतको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने जिकिर गरे ।
मन्त्री खड्काले भने, ‘यस पटक बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्न आवश्यक छ । यस पटक बजेट निर्माण गर्दा सचिवज्युहरुले ध्यान दिनुहोला । यसका जोखिमबाट उत्पन्न हुने समस्या विकराल हुन्छ । थामे लगायतका स्थानमा हामीले हिमताल फुटेर भएको क्षति हेरिसकेका छौँ । सबै हिमतालहरु जोखिममा नै छन् । भरपर्दो स्ट्रक्चर छै, हिउँ नै हो । यो फुटिसकेपछि आयोजनामा क्षति मात्रै हुने होइन, मानवीय क्षति पनि त्यत्तिकै बढ्छ । त्यसैले दोहोरो, तेहोरो चपेटामा आज नेपाल छ । यसलाई जोगाउने, संरक्षण गर्ने, सबै देशलाई आह्वान गर्ने नेपालको दायित्व बनेको छ । कारण नेपाल होइन, ठूला र विकसित राष्ट्र हुन् । गम्भीर रुपमा लिएर हामीले अहिले जलश्रोत विधेयक चाँडै पारित गर्दैछौँ ।’
मन्त्री खड्काले जलश्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्युनिकरण गर्न दीर्घकालीन नीति निर्माण हुनु आजको अपरिहार्य आवश्यकता भएको बताए । सरकारले सञ्चालन गरिरहेको जल तथा मौसम सम्बन्धी पूर्वअनुमान प्रणालीहरु डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गर्ने सरकारको प्राथमिकता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्