काठमाडौैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानूनहरू खारेज गर्न आवश्यक रहेको बताएका छन् ।
काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले काँग्रेस र एमालेसँगै भएको बेलामा रोकिएर बसेका ९० को दशकमा गरिएका आर्थिक सुधारका काम कामहरूलाई अगाडी बढाउनुपर्ने बताए । उनले आर्थिक सुधारका कामहरूका विषयमा केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको समेत जानकारी दिए ।
महामन्त्री थापाले कानुनमा सुधार गर्ने कुराहरू अगाडी बढाएको बताउँदै दोस्रो चरणको काम केही दिनमा शुरु गर्ने जिकिर गर्दै काम नलाग्ने दर्जनौँ नियम र कार्यविधिलाई खारेज गरी नयाँ कुराहरू थपेर संरचनालाई ठिक ठाउँमा लानुपर्नेमा जोड दिए ।
उनले भने, ँनेपाली काँग्रेस र नेकपा (एमाले) सँगै भएको बेलामा ९० को दशकमा गरिएका आर्थिक सुधारहरू, जुन पछिल्लो समय रोकिएर गएको छ । ती सुधारका सन्दर्भमा हामीले व्यापक रूपमा काम गर्नुपर्नेछ । अस्ति मात्रै सम्माननीय प्रधानमन्त्री र सभापतिसँग बसेर छलफल गरेका छौँ । हामीले कानूनमा सुधार गर्ने कुराहरू अगाडी बढायौँ, अब हामी दोस्रो चरणको काम केही दिनमा सुरु गर्छौ । हामीले काम नलाग्ने दर्जनौँ कानुनहरू खारेज गर्न चाहन्छौँ । नियम, कार्यविधिका नाममा जुन शासन चलाइएको छ, हामीले दर्जनौँ खारेज गर्नुपर्नेछ । कैयौँ नयाँ कुराहरू बनाउनुपर्नेछ । बनाइसकेपछि यो संरचनालाई हामीले ठिक ठाउँमा लिएर जानुपर्नेछ ।”
उनले काँग्रेस र एमाले मिलेर सरकार चलाउँदै गर्दा त्यसको लाभ आम नागरिकले पाउनुपर्ने बताउँदै तब मात्रै यसको अर्थ हुने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्