काठमाडौं । सांसदहरुले बुबा र आमा दुवैलाई समानताको हक संविधानले सुनिश्चित गरेको भएपनि कानून निर्माणमा सम्बोधन हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । शुक्रबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल सांसदहरुले यस्तो गुनासो गरेका हुन् ।
उनीहरुले यो विधेयकले विभेदको अन्त्य गर्नेगरी दुवैलाई समेटेर अघि बढ्न सक्नुपर्ने बताए । समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नागरिकता विधेयक आफैँमा निकै संवेदनशील भएको बताउँदै यसले नागरिकको पहिचान र अधिकार सम्पादन र सम्बोधन गर्ने बताए ।
संविधानमा महिला पुरुषलाई समानताका रुपमा स्वीकार गरिएको भएपनि कानून निर्माण गर्दा बुबा र आमालाई समान ढंगले लिन नसकेको बताउँदै उनले यो विभेदको अन्त्य गर्नेगरी यो कानूनलाई सम्पादन गर्नुपर्ने जनाए ।
उनले भने, ‘यो विधेयक आफैँमा निकै संवेदनशील विधेयक हो । यसले नागरिकको पहिचान र अधिकार सम्पादन र सम्बोधन गर्दछ । संविधानमा महिला पुरुषलाई समानताका रुपमा स्वीकार गरेका छौँ । त्यो अधिकार, पहिचान सबै कुराका हिसावले । कानून निर्माण गर्दा बुबा र आमालाई समान ढंगले लिन सकेका छैनौँ । यो अर्को प्रकारको विभेद हो । यो विभेदको अन्त्य गर्नेगरी यो कानूनलाई सम्पादन गरिनुपर्छ । बाबा र आमा दुवैलाई समानताको हक संविधानले सुनिश्चित गरेको छ तर कानून निर्माणमा सम्बोधन भएको छैन । यो विधेयकले समेटोस् ।’
समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ०६३ सालमा नागरिकता ऐनले वंशजको आधारमा नागरिकता प्राप्त गरिसकेका मानिसहरु विदेश गए र कुनै देशको नागरिकता लिए भने त्यो स्वत: खारेज हुने स्थिति रहेको भन्दै यसले नेपालमा नेपालीलाई नै लगानी गर्नबाट रोकेको बताए ।
जसका पूर्खाले यो देश बनाए उनीहरुकै सन्तानले नागरिकता नपाउने कुरा दु:खद् भएको बताए । उनले विदेशीहरुलाई सहजै नेपालको नागरिकता दिने कुराले समस्या पैदा भएको बताए । वंशजको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको नागरिकता रद्ध गर्न नहुने उनको भनाइ छ ।
उनले भने, ‘हामीले वंशजका आधारमा त नागरिकता पायौँ । वंशजका आधारमा नागरिकता प्राप्त गर्ने भनेको जसले यो मुलुक बनाए तिनीहरुका सन्तानहरु हो । ०६३ सालमा नागरिकता ऐनले वंशजको आधारमा नागरिकता प्राप्त गरिसकेका मानिसहरु विदेश गए र कुनै देशको नागरिकता लिए भने त्यो स्वत: खारेज हुन्छ । यसले नेपालको मान्छेहरु जो युवाहरु देश फर्किन चाहन्छन्, लगानी गर्न चाहन्छन्, त्यो हुन सकेन ।’
‘उनीहरु नेपाल आउनै नदिने नेपालमा कानून बन्यो । किनभने उनीहरुलाई सदाका लागि विदेशी बनाउने, वंशजको नागरिकता पनि स्वत: खारेज हुने व्यवस्था आयो । त्यसले अर्बौं रुपैयाँ कमाए पनि तिनीहरु नेपाल आएर लगानी गर्न नपाउने भए । किनभने उनीहरुले नागरिकता नै विदेशी बनाइसके । राष्ट्रघात भयो । जसका पूर्खाले यो देश बनाएका हुन्, आज तिनका सन्तानहरु विदेशी हुने, विदेशीहरुलाई सहजै नेपालको नागरिकता दिने रु यसले समस्या पैदा गरेको छ । वंशजको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको नागरिकता क्यान्सिल गर्न हुँदैन’ उनले बताए ।
प्रतिक्रिया दिनुहोस्