काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेश ल्याइएको दाबी गरेका छन् । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था सुधार गर्नको लागि अध्यादेशमार्फत २९ वटा कानूनहरु परिवर्तन गरेको जिकिर गरे ।
उनले गैरसहकारी मान्छेहरु सहकारीमा प्रवेश गर्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताउँदै सहकारीहरु मिलेर सानो पुँजी जम्मा गर्दै ठूलो/ठूलो कामहरु गर्न सकिने बताए । उनले संसदको हिउँदे अधिवेशनमा सरकारले सदनलाई विजनेस दिने कुरामा दृढ रहेको बताए ।
उनले सरकार संसदमा कानून बनाउने र कानून संशोधन गर्ने कुरामै केन्द्रित हुने बताउँदै भने, ‘सहकारीमा ठूलो ठगी भएको छ । गैर सहकारी मान्छेहरु सहकारीमा प्रवेश गरेर यस्तो खालको काम भयो । सहकारी हामीलाई अहिले पनि आवश्यक छ । सहकारी मिलेर साना साना पूँजी जम्मा गरेर हामी ठूला कामहरु गर्न सक्छौं । त्यतापट्टि हामी जानुपर्दछ । हामीले केही कामहरु छिटो गर्नको लागि केही अध्यादेशहरु ल्यायौं । २९ वटा कानूनहरु परिवर्तन गरेका छौं । त्यसले हामी तुरुन्तै काम थाल्दैछौं । संसदबाट अध्यादेश पास हुनेबेलासम्म थुप्रै कुराहरु अगाडि बढाइसक्छौं । सरकार संसदमा कानून बनाउने र कानून संशोधन गर्ने काममै हुन्छ । सरकारले संसदलाई विजनेश दिन्छ । संसद तिब्र रफ्तारमा चल्छ । अध्यादेश पास हुनु र नयाँ ऐन र कानून संशोधन ल्याउनुपर्छ ।’
उनले केही मान्छेहरु बालकलाई जस्तो चकलेट देखाएर सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै अहिले नेपाली काँग्रेसबाट पूर्ण साथ पाएको बताए । उनले अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्था रहेकोले रिकभर गर्न सरकार प्रयासरत रहेको जनाए ।
प्रतिक्रिया दिनुहोस्