काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संसदलाई लामो समय अनिर्णयको वन्धी बनाउन नसकिने भन्दै रास्वपाले जनताका मुद्दा संसदमा राख्न नदिने काम गरिरहेको बताउँदै संसद आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताए । शोक प्रश्ताव राख्दा पनि वेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको जिकिर गरे । सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भएपनि शोक प्रश्ताव राख्दा समेत विरोध गर्नुले संसदको मर्यादा गिराएको बताए ।
अशोभनीय व्यवहार र प्रवृत्ति संसदमँ देखिनु राम्रो नभएको बताउँदै भने, ‘संसदमा लामो समयसम्म यस प्रकारको अवरोध मात्रै कायम राखिरहने, यस प्रकारको मनशायबाट हिँडिरहने उहाँहरुको कार्यशैलीमा हामी सधैँ अल्झिन सक्दैनौँ । हाउस आफ्नो विधानबमोजिम अघि बढ्छ । आजदेखि हाउस नियमित प्रक्रियाबाट अघि जान्छ । सभामुखज्युले शोक प्रश्ताव राख्दा पनि उहाँहरु वेल घेराउको क्रममा रहनुभयो । त्यो प्रक्रिया सामान्यतया एउटा शोक प्रश्ताव भनेको एउटा सम्मान हो । त्यतिबेला उहाँहरुले आसन ग्रहण गर्नुपर्दथ्यो । वेल घेराउ भनेको त सरकारी बिजनेसमाथिको विरोध हो । सरकारी बिजनेस कार्यसूचिबाट हटिसकेपछि पनि वेल घेराउ गर्ने, प्लेकार्ड बोकेर वेल घेराउमा बस्ने । डायरीले टेबल ठटाउने जस्ता अशोभनीय व्यवहार गर्नुभयो । यस्तो प्रवृत्ति संसदमा देखिनु राम्रो होइन ।’
प्रमुख सचेतक बर्तौलाले संघीय निजामति लगायतका महत्त्वपूर्ण विधेयकहरु आजको संसद बैठकबाट अघि बढाइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्