काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।
आज महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न हामीले प्रयत्न गर्यौँ । नयाँ अवसरहरुको खोजी गर्यौ । निराशा चिर्ने प्रयास गर्यौ । धेरैमा हामी सफल पनि भयौँ । र, सुधारको प्रयास अझै जारी छ ।
म यहाँहरुलाई स्मरण गराउन चाहन्छु, कि आजभन्दा दुई वर्ष अघि महासंघको ५७औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा नेपाल श्रीलंका जस्तै आर्थिक संकटमा पर्न सक्ने बारे निक्कै चर्चा गरिएको थियो ।
त्यस कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपाल सरकारले समयमा कुनै निर्णय नगरे नेपालमा पनि श्रीलंका जस्तै विदेशी विनिमयको समस्या सिर्जना हुने सुझाव सरकारलाई दिइरहेको समयमा मैले आफ्नो समापन मन्तब्यमा नेपाल श्रीलंका जस्तो नहुने बताएको थिए ।
त्यसका केही आधार थिए । जस्तो कि नेपालले सहुलियतपूर्ण कर्जा लिन्छ । कुल गार्हस्थ्य उत्पादन र कर्जाको अनुपात ४० प्रतिशत भन्दा कम थियो ।
विदेशी विनिमय संचिति ६ महिना भन्दा बढि समयको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो । तर हामी बढि नै सतर्क भयौ । चाहिने भन्दा बढी सतर्कता लियौँ । धेरै कुरा नियन्त्रण गर्न खोज्यौँ ।
जसको फलस्वरुप राजश्व पनि गुमायौँ । औपचारिक च्यानलबाट हुने गरेको व्यापार अनौपचारिक हुन गयो । अनौपचारिक आयात संस्थागत भयो । गाडी र मोटरसाइकल बाहेक सबै सामग्री अनौपचारिक रुपमा भित्रियो ।
त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अभैसम्म चलायमान हुन दिएको छैन । लगातारको प्रयत्न पछि पछिल्लो त्रैमासमा ५ प्रतिशत आर्थिक वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन आएको छ ।
यो सकारात्मक छ । तर उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको हामीले देशभरका करिब २४० संस्थाहरुसंग गरेको सर्वेक्षणमा देखाएको छ । यो प्रतिवेदन हामी छिट्टै सार्वजनिक गर्नेछौ ।
व्यक्तिगत रुपमा भन्ने हो भने म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी हुँ । म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरुको चाहना पुरा गर्न अहिलेको सुधार पर्याप्त छैन ।
जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनौ, निराशालाई आशामा बदल्न सकिदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो । हामीलाई थाहा छ रोजगारी प्रदान गर्न सरकारको सिमितता छ । अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ ।
निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ । तर हरेक बर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन । त्यस कारण युवाहरु जुन अर्थतन्त्रले रोजगारी दिनसक्छ त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेका हुन् । नेपालीलाई काम दिने यी अर्थतन्त्रहरु र नेपालको अवस्था केही समय पहिले उस्तै थियो । सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० र दक्षिण कोरियाको करिब सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर ।
यस अवधिमा कोरियाको आम्दानी चार सय गुणा बढेको देखिन्छ । नेपालको पनि २८ गुणा बढ्यो । तर ४० हजारको क्रय क्षमता र १४ सयको क्रय क्षमता तुलना हुँदैन । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन ।
भुमण्डलीकरणले सर्वसाधारणको आवश्यकता र चाहना मात्रै बढेन स्तरीय जीवनयापन र क्षमता अनुसारको काम पाउन सारा संसार खुला भयो । ठुला अर्थतन्त्रमा हामीले काम पाउने त भयौ तर आफ्नो अर्थतन्त्र ठूलो बनाउन सकेनौ ।
बंगलादेशको प्रतिव्यक्ति आय नेपालको भन्दा दोब्बर छ । कुल निर्यात ४० अर्ब डलर भन्दा माथि छ । बंगलादेश संगै अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुन लागेको नेपालको आम्दानी नै पुगेको छैन ।
अन्य दुई सूचकका आधारमा हामी अगाडि बढेका हौ । फेरि पछाडि नफर्किने हो भने निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्छ ।
अब म बुँदागत रुपमा यहाँहरुलाई हामीले के गर्न सक्छौ ? त्यो कसरी सम्भव छ ? र, सरकार लगायतका सरोकारवालाहरुको कस्तो सहयोग चाहिन्छ भन्ने विषयमा कुरा गर्न चाहन्छु ।
सम्माननीय प्रधानमन्त्रीज्यू र वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली हो । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी गर्नुपर्यो । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।
पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन्छन, एउटा सरकार र दोस्रो निजी क्षेत्र । सरकारले लगानीका लागि पैसा मुख्यतया राजश्वबाट नै ल्याउने हो । राजश्व उद्यमी, व्यवसायी र सर्वसाधारणबाट उठ्छ । सर्वसाधारणको आम्दानीको मुख्य स्रोत पनि निजी क्षेत्र हो किनभने अधिकांश रोजगारी निजी क्षेत्रले नै सिर्जना गरेको हुन्छ ।
अन्तराष्ट्रिय वित्त निगम र महासंघले गत वर्ष गरेको अध्ययनले पनि अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखाएको छ ।
त्यसैले सरकारको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्छ ।
सर्वसाधारणको सुखको एउटा आधार पर्याप्त रोजगारी र त्यसबाट हुने अम्दानी हो । जसले आफ्नोसंगै परिवारको आधारभूत आवश्यकता एवं शिक्षा र स्वास्थ्यको चिन्ता लिनुपर्दैन ।
सर्वप्रथम म सरकारी निकाय, नागरिक समाज, मिडिया लगायत सबै सरोकारवालाहरुलाई निजी क्षेत्रको यो महत्वलाई बुझिदिन आग्रह गर्दछु ।
जुन मुलुकले यो बुझ्यो त्यसको प्रगति तीब्र भएको छ । उदाहरणका लागि बंगलादेश, रुवान्डा, क्याम्बोडिया, भियतनाम, लाओस जो हामी जस्तै थिए, अहिले प्रगतिपथमा हामीलाई उछिन्दैछन ।
यो सम्भव छ, निजी क्षेत्र अगाडि बढेपछि भारतमा प्रति वर्ष १.४ प्रतिशतका दरले गरिबी घटिरहेको छ । बीस बर्षमा करिब ५० करोड सर्वसाधारण गरिबीको रेखाबाट माथि उठेका छन् ।
हामीजस्तै मुलुक बंगलादेशको निर्यात सन् २०१० यता १८ अर्बबाट ४० अर्ब डलर पुगेको छ । तीस बर्ष अघि सय दिनको अवधिमा आन्तरिक द्धन्दका कारण ८ लाख मानिस गुमाएको रुवान्डामा २० वर्षयताको आर्थिक वृद्धिदर ७.२ प्रतिशत छ ।
हामीसंगै एकैदिन विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियामा प्रत्यक्ष वैदेशिक लगानी नेपालभन्दा दश गुणा बढि भित्रिने गरेको छ । यदि यी देशले सक्छन भने हामी किन सक्दैनौ । अरु अगाडि बढन सक्छन् भने हामी कहाँ अल्मलिएका छौ ? यी विषयहरु पहिल्याउनुपर्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, श्रीमान् मुख्य सचिव ज्यू, सचिवज्यूहरु यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुका बिच म भन्न चाहन्छु, हामी सक्छौ ।
लगानीका लागि पहिला म विदेशी लगानीको कुरा गर्छु । अहिले कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशत मात्रै विदेशी लगानी आउँछ । त्यो भनेको वर्षको करिब ८ अर्ब रुपैया हो । यसलाई सजिलै पाँच गुणा बढाउन सकिन्छ । सन २०३० सम्ममा वार्षिक एक अर्ब डलर ल्याउने लक्ष्य राखौं । किनभने नेपालसंगै विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियाको उदाहरण मैले माथि दिइसकेको छु ।
हामीले पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा गरी चारवटा सम्मेलन आयोजना गर्यौं । हरेक कार्यक्रममा डेढ सय भन्दा बढि स्थानीय उद्यमी व्यवसायीको सहभागिता थियो । उहाँहरु नेपाल आउन चाहिरहनु भएको छ ।
विश्वव्यापी रुपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको छ । नेपालका प्रतिष्पर्धि मुलुकहरुको तुलनामा निक्कै कम भन्सार दर अमेरिकाले नेपालका लागि तोकेको छ ।
यसले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको छ । यसबाट पनि हामीले लाभ लिन सक्नुपर्छ । यसबारे हामी अध्ययन गरिरहेका छौँ ।
देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा एफएनसीसीआई, सीएनआई, च्याम्बर, जिल्ला उद्योग वाणिज्य संघ, वस्तुगत संघ अन्तर्गतका व्यवसायीहरु, गैर आवासीय नेपालीहरु र अन्य संस्थागत तथा व्यक्तिगत सबै उद्यमी, व्यवसायी र लगानीकर्तालाई समेट्दै आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको छ । यसले मुलुकका ७७ वटै जिल्ला र मुलुक बाहिर छरिएर रहेको सानोसानो पूँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको छ ।
अहिले अवस्था असहज छ तर सुधार असम्भव छैन् । हामी सक्छौ । हामीले ठूलो आन्तरिक द्वन्द्वको सहज समाधान गर्यौं । हामी ठूलो भूकम्पले तहस नहस बनाएको संरचनाबाट जुर्मुराएर उठ्यौ । सहमतिमै संविधान जारी गरी स्थायित्वको बाटो समायौ । कोभिड जस्तो महामारीबाट तंग्रियौ । हालको समस्या पनि हामी समाधान गर्छौ ।
हामी दरिला छौँ । हामी विवेकी छौँ । हामी उद्यमी छौ । मात्र हामीले अर्थतन्त्रलाई सबैभन्दा माथि राख्नुपर्छ । यसलाई कुनै पनि वादले विथोल्नु हुँदैन । व्यवसायीलाई निर्वाध काम गर्न दिनुपर्छ ।
म फेरि पनि भन्छु, हामी सक्छौ । हामीले नसके कस्ले सक्छ ? हामीले नगरे कस्ले गर्छ ?
राजनीतिक स्थायित्व र त्यसको सन्देशका कारण २०७३ देखि ७५ सम्म तीन वर्ष औसत ७.५ प्रतिशत भन्दा बढि आर्थिक वृद्धि भएको थियो । हामी चाहन्छौँ कमसेकम आर्थिक विषयमा सबै दलको साझा धारणा बनाउनु पर्छ ।
अर्थतन्त्र, विकास र सम्मृद्धिमा राजनितिक दलहरुको साझा धारणा बनाउन सकिन्छ । निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जिविकामा प्रतिकूल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु हुदैन ।
निजी क्षेत्र बार्षिक १६ खर्ब रुपैयाको पूँजी निर्माण गर्न सक्ने क्षमता राख्छ, सरकारले चार खर्ब मात्रै लगानी गरे पुग्छ । दोहोरो अंकको वृद्धि सम्भव छ । वर्षमा लाखौँ जनशक्तिलाई मर्यादित रोजगारी दिन सकिन्छ । यसको पहिलो शर्त हो, स्थायित्व । हामीले आर्थिक सुधारका लागि गठन भएको उच्चस्तरीय सुधार सुझाव आयोगमा पनि यो बिषयमा छलफल गरेका छौ ।
मैले आज प्रस्तुत गरेका यी तथ्यांक र सुधारका उपायका बिषयमा हामी दुइ बर्षदेखि निरन्तर अध्ययन र छलफलमा थियौ । २०८० असोज २५ गते वृहत आर्थिक सम्मेलन आयोजना गरि हामीले नयाँ चरणको आर्थिक सुधार र त्यसका लागि उच्चस्तरीय आयोगको माग गरेका थियौ । अहिले आयोग गठन भएर हामी सुझावको अन्तिम तयारीमा छौ ।
सर्वसाधारणले अनुभूत गर्ने गरी सुधार गर्न अर्को पूर्व शर्त हो, सुशासन । पछिल्लो तीन दशकमा सुशासन मुलुकको ठूलो समस्या भएर देखा परेको छ । यो हामी सबैको साझा समस्या हो ।
नेपाली स्वभावत: सरल, सानो खुशीमा रमाउने, मिलनसार र सहयोगी समुदाय हो । उनीहरुका माग धेरै छैनन् । समाज विस्तारै बदलिंदैछ । सरल र सिधा जीवनयापन अब कठीन हुँदैछ । हामीले सुशासनको प्रत्याभूति गर्न सकेनौ भने अर्थतन्त्रमा मात्र समस्या हुने नभई समाज नै विकृत हुने देखिएको छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू हाम्रा माग साना छन्, यहाँहरुको सानो प्रयत्नले ठूलो उत्साह थप्नेछ ।
काम गर्न चाहने युवालाई सहजै सेवा दिने ठाउँ बनाऊँ
लगानी गर्ने उद्यमीको मनोबल बढाइ दिऊँ
सुरक्षा माग्ने जनतालाई ढाँडस दिइ काम गरिदिऊँ
राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिऊँ
रोजगारी दिने निजी क्षेत्रलाई अपमानित नगरौँ ।
यी ठुला माग होइनन तर यत्तिले मात्रै पनि ठूलो परिवर्तन आउनेछ । प्रविधिको उच्चतम प्रयोग र सदाचार नीतिबाट यो सम्भव छ । अहिले आर्टिफिसिएल इन्टिलिजेन्स संसारको स्वरुप नै परिवर्तन गर्ने गरि विकास भैरहेको छ ।
हामी सामान्य सुधारको माग गरिरहेका छौ । हामी चाहिरहेका छौ कि, नागरिक एपबाट व्यवसाय दर्ता देखि सम्पूर्ण काम गर्न सकियोस । त्यसतर्पm सरकारले पहल गरोस । यसमा निजी क्षेत्र र दातृ निकायको पनि सहयोग जुटाउन सकिन्छ ।
सुशासन अभिवृद्धिका लागि दोस्रो काम सदाचारलाई बढावा दिनु हो । कानुनी आधार पनि सुशासन प्रवद्र्धन हुने गरी निर्माण गरिनुपर्छ । भूतप्रभावी कानुनहरुले अविश्वास बढाएको उदाहरण हामीसंगै छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु आवश्यक छ । हामी धेरै गर्न सक्छौ ।
सम्माननीय प्रधानमन्त्रीज्यू, आदरणीय उपस्थित महानुभावहरु,
यहाँहरुलाई विदितै छ कि निजी क्षेत्र चलायमान हुन नसक्दा अहिले सबैतिर प्रभाव परेको छ । सरकारको राजश्वमा पनि प्रतिकूल प्रभाव परेको छ । यो सबैलाई जानकारी छ ।
अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे हो कि भन्ने मलाई लागेको छ । स्रोतका लागि एकले अर्काको मुख ताक्ने काम कम गर्नुपर्छ । हामीले योजना ल्याऔ, आफै मिलेर हामी कसरी काम गर्न सक्छौ, त्यसमा छलफल गरौं । स्थानिय र प्रदेश सरकारसंग सहकार्यका अवसर खोजौ । अब दातृ निकायको उपस्थिति पनि पहिले जस्तो रहनेछैन ।
हामीले केन्द्र देखि स्थानीय तहसम्म हाम्रा संस्थाहरुलाई कसरी प्रभावकारी बनाउनेबारे अध्ययन बहस गरौ । हामीले पनि केही रणनीतिक योजना बनाएका छौ । नवीन सोच केन्द्र सबै तहमा आवश्यक छ ।
म आग्रह गर्छु, निजी क्षेत्रको सम्मान, समृद्धिको आधार नारालाई सबैले मनन गरौ । किनभने
८६ प्रतिशत रोजगारी दिने क्षेत्रको निरन्तर मानमर्दन हुन्छ ।
८० प्रतिशत भन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान पुर्उने निजी क्षेत्र निरन्तर अपहेलित छ ।
८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र निरन्तर जोखिममा छ ।
९८ प्रतिशत निर्यात गर्ने निजी क्षेत्र निरन्तर अपमानित छ ।
हामी जोखिम लिन्छौ,
सर्वस्व लगानी गर्छौ,
राजश्व र रोजगारीमा निरन्तरको योगदान र पनि सधै असुरक्षित हुनुपर्छ भने हामी कसरी मनोबल जुटाउने ।
त्यसैले हामीले सुरक्षाको बिषय उठाएका हौ ।
सम्मानको बिषय उठाएका हौ ।
मर्यादाक्रमको बिषय उठाएका हौ ।
यसमा राज्यको कुनै लगानी हुँदैन ।
मात्र सदभाव चाहिएको हो ।
सम्माननीय प्रधानमन्त्रीज्यू यस बिषयमा सकारात्मक हुनु भएको हुँदा म उत्साहित छु ।
हामीले यो पनि बुझेका छौ । हामी सम्मानित हुन अरुको पनि सम्मान गर्नुपर्छ । उपभोक्ता र अन्य सरोकारवालाप्रति हामी सचेत र जिम्मेवार हुनुपर्छ ।
हामीले यी बिषय राखि रहँदा सत्प्रयास गर्नेहरुप्रति आभार पनि व्यक्त गर्नुपर्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सरकारले हाम्रो आग्रहमा करिब ३५ वटा कानुनमा सुधार गर्नुभयो । द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको छ । पारदर्शिता र जवाफदेहीताका लागि हाम्रो आग्रहमा उत्पत्तिको प्रमाण पत्रलाई पुरै अनलाइन बनाउने निर्णय वाणिज्य मन्त्रालयले गरेको छ । नेपाल प्रवद्र्धनका लागि विदेशमा हामीले आयोजना गर्ने कार्यक्रममा सहजीकरण भैरहेको छ ।
हाम्रो आग्रहमा नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग बनेको छ ।
यी सबैका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू एवं सरकार तथा सबै राजनैतिक दल तथा नेतृत्व प्रति आभार व्यक्त गर्दछु ।
म महासंघका सदस्यज्यूहरुलाई पनि आग्रह गर्न चाहन्छु, नयाँ चरणको सुधार महासंघको सुझाव र आग्रहमा शुरु भएको हुँदा यसको अपनत्व लिएर केन्द्रदेखि स्थानीय तहसम्म यो सुधारको पहलको हामी सबै मिलेर पैरवी गरौँ ।
यो सुधार भनेको नीति नियममा सुधार हो
यो सुधार भनेको प्रक्रियागत सुधार हो
यो सुधार भनेको व्यवहार र आचरणमा सुधार हो
यो सुधार भनेको काम गराइ र सोचाइमा सुधार हो
यो सुधार भनेको केन्द्र, प्रदेश, पालिका र वडासम्मको सुधार हो
यो सुधार शिक्षा स्वास्थ्य लगायत सामाजिक सेवाको सुधार हो ।
यो सुधार व्यवसायीहरुको काम र आचरणको पनि सुधार हो
यो सुधार तपाई हामी र हाम्रा सन्ततीका लागि हो
स्थानिय आवश्यकता र विश्व परिवेश नियालेर नीति निर्माण प्रक्रियागत सुधारमा महासंघका सबै संयन्त्र लाग्नु आवश्यक छ । हामी अब अबिकसित भएर अभाव र गरिबीमा बस्नु हुँदैन र बस्न सकिदैन ।
अन्त्यमा, नेपाल उद्योग वाणिज्य महासंघको ५९ औ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा हाम्रो मनोबल उच्च बनाउन उपस्थित सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु श्रीमान् मुख्य सचिव ज्यू, सचिवज्यूहरु यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ तथा मेरो व्यक्तिगत तर्फबाट पुन: स्वागत गर्दछु ।
जाँजाजाँदै, तपाई हाम्रो आगनमै आइपुगेको नयाँ वर्ष २०८२ को सुखद् उपलक्ष्यमा तपाई र तपाईको परिवारमा समृद्ध, सुखमय र उन्नत भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले हाम्रा सबै चुनौतिहरुलाई अवसरमा बदल्ने र निराशालाई आशामा परिणत गर्ने हाम्रो साझा संकल्पमा सफलता मिलोस् ।
(नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष ढकालले राखेको विचार)
प्रतिक्रिया दिनुहोस्