ललितपुर, ६ असार: प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित फ्लाई ओभरको उद्घाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरेका हुन् ।
काठमाडौं चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा निर्मित ग्वार्को फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गरेको हो । इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ९इपिसी० ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्मित् उक्त फ्लाई ओभर नेपालको पहिलो हो । कुल पाँच सय मिटर ‘अप्रोच’ सडक रहेको यसमा ३५ मिटर स्पानको चार लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।
‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीनवटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुआत गरेका थियौँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमा फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ’, प्रधानमन्त्री ओलीलेभने ‘यसरी विकास हुँदा विदेश जाने मुद्रा स्वदेशमा रहन्छ । ठूलो आर्थिक लाभसहित रोजगारी सृजना हुन्छ । अरु खनिजको उत्खनन, कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ ।’
सुनकोशी–मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची–महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले पूर्वाधार विकासका क्षेत्रमा गति लिँदै गएको बताए । उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायत अन्य आयोजनाले पनि गति लिइरहेका उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्