काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्नेगरी क्षमता वृद्धिमा लागिरहेको बताएका छन् ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित वृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनस्वास्थ्य प्रयोगशालामा आफू मन्त्री हुनु अगाडी २० प्रतिशत मात्रै परीक्षण हुने गरेको बताउँदै आफू मन्त्री बनेपछि ५० प्रतिशत रोगको परीक्षण हुने परिस्थिति बनेको दाबी गरे ।
उनले निजी अस्पतालहरूले पनि उक्त प्रयोगशालामै परीक्षण गर्ने वातावरण निर्माण भइरहेको बताए । स्वास्थ्य मन्त्री पौडेलले अब मुलुक बाहिर पठाउन नपर्ने गरी राष्ट्रिय जनसङ्ख्या प्रयोगशालामै सबै परीक्षण हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको जिकिर गरे ।
उनले बिग्रिएर फालिएका ५५ प्रतिशत उपकरणहरू राष्ट्रिय आविष्कार केन्द्रमा मर्मतपछि सञ्चालनमा आइरहेको जानकारी दिए ।
उनले भने, ँहामीले राष्ट्रिय आविष्कार केन्द्रलाई बिग्रेका उपकरणहरू बनाउन लगायौँ । बिग्रियो भनेर फालिएका ५५ प्रतिशत उपकरणहरू बनेर काममा आइरहेको स्थिति छ । अहिले नेपालको राष्ट्रिय प्रयोगशाला, जहाँ म आउनुभन्दा अगाडी २० प्रतिशत मात्रै परीक्षण हुने गथ्र्यो । सबै बाहिर जान्थ्यो परीक्षणको लागि । अहिले त्यसले क्षमता अभिवृद्धि गरेर झन्डै ५० प्रतिशत नेपालको परीक्षण त्यहाँ हुने परिस्थिति बनेको छ । सरकारीको त अब करिव करिव त्यही नै हुन्छ, प्राइभेटले पनि त्यहाँ सम्झौता गर्नुपर्ने स्थिति हामीले बनाएका छौँ । अब बाहिरै जानै नपर्ने गरी केन्द्रिय प्रयोगशालामा सबै परीक्षण हुने व्यवस्था यो पटक बजेट ल्याएर हामीले गर्दै छौँ ।”
उनले पारदर्शी समाज निर्माण र सुशासन कायम गर्नको निम्ति पत्रकारिता जगतको उपस्थिति अनिवार्य रहेको बताउँदै यस जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्