काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कालीमाटी—टेकु जोड्ने पक्की पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन गर्न योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागिपरेको बताएका हुन् ।
दशकदेखि अलपत्र कालीमाटी–टेकु पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योल छ । निर्माण सम्पन्न भई केही समय सञ्चालनमा आइसकेको उक्त पुलमा प्राविधिक समस्या देखिएको भन्दै बन्द गरिएको थियो ।
त्यसयता उक्त पुल अलपत्र छ । २०७१ सालमा निर्माण थालिएको पाँच वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । ठेकेदार कम्पनीले उक्त पुलमा कुनै पनि त्रुटि नभएको दाबी गर्दै आएको छ । मन्त्री दाहालले अदालतले गरेको स्टे अर्डर वा अदालतमा भएको कुराहरु नरोकोको खण्डमा पुलको लोड टेस्ट गरेर गरेर सञ्चालनमा ल्यायने दिशामा काम भइरहेको उल्लेख गरे ।
मन्त्री दाहालले भने, ‘कालीमाटीको पुलको सन्दर्भमा कुरा आएको छ । पुल बनाउने निर्माण कम्पनीको निर्माण व्यवसायी बारम्बार मसँग पनि भेट गर्न धेरै चोटि आउनु भयो । मलाई पत्र पनि दिनुभएको छ । मैले के भनेको थिएँ भने यदी अदालतले गरेको स्टे अर्डर वा अदालतमा भएको कुराहरु होस्, त्यसले रोक्दैन भने हामीलाई अर्थमन्त्रालयले एउटा सर्कुलर पनि के जारी गरेको छ भने आर्बिटेशनबाट निर्माण व्यवसायीले जित्यो भने मन्त्रालय, त्यो भन्दा माथिल्ला, उच्च अदालत र सर्वोच्च अदालतसम्म पनि जानुपर्छ भन्ने परिपत्र गरेको छ ।’
‘किनभने राज्य त अदालतबाट न्याय पाउनका लागि जान त पाउनुपर्यो नि । त्यस्तो खालको सर्कुलर गरेको हुँदा मन्त्रालय माथिल्लो अदालत गएको होला । अदालती प्रक्रियाले हामीलाई यदि रोक्दैन भने त्यो सञ्चालन गर्नका लागि। उहाँहरुको अदालतको मुद्दा चलिरहन्छ । त्यो कसले जित्ने, हार्ने भन्ने हुने भयो । त्यसले रोक्दैन भने त्यो पुलको लोड टेस्ट गरेर त्यो सञ्चालनमा ल्याउनुपर्छ । त्यो कुरामा हामी अघि बढिरहेको छौँ’ उनले भने ।
मन्त्री दाहालले सरकारले नेपालमा मनसुन भित्रिसकेको भन्दै त्यसबाट हुनसक्ने बाढी, पहिरोको समस्या हुने ठाउँहरुको पूर्वअध्ययनको कामहरु गर्न सकारात्मक रहेको बताए । विपद्पछिको पुन:निर्माणको सन्दर्भमा तुलनात्मक रुपले नेपालका मन्त्रालयहरुमध्ये भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहेको बताए ।
सामग्रीहरुसहित मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी गराउँदै नेपाल निर्माणको चरणमा रहेकाले पनि केही समस्याहरु आइरहेको बताए ।
मन्त्री दाहालले भने, ‘बाढी, पहिरोले दु:ख दिने ठाउँहरुको पूर्वअध्ययन गर्नुपर्छ भन्नेकुरामा म सहमत छु । विपद्पछिको पुन:निर्माणको सन्दर्भमा तुलनात्मक रुपले नेपालका मन्त्रालयहरुमध्ये भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहन्छ । इक्वीपमेण्टसहित तयारी अवस्थामा रहन्छ । त्यतिले पुगेको छैन, काम हामी गरिरहेका छौँ । नेपाल निर्माणको चरणमा छ । राजमार्गहरु केही वर्ष परिकल्पना गर्ने हो भने त्योदेखि बाहेक अरु थिएन ।’
मन्त्री दाहालले स्थानीय सरकारसँगको समन्वयनमा विकास निर्माणका कामहरु पनि गरिरहेको र विपद्को बेलामा संयन्त्र बनाएर काम गर्नेगरी पनि अघि बढ्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्