Skip to content
Shikhar Insurance
National Life

नारायणी लिफ्टबाट पानी छोडियो

Hyundai
NCELL
NIMB

चितवन । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले रोपाइँका लागि नहरमा पानी छाड्न सुरु गरेको छ । सो कार्यालयले आठ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ । नारायणी लिफ्टमा रहेका दुईवटा पम्पबाट चार हजार ७०० हेक्टर र खगेरी सिँचाइबाट तीन हजार ९०० सय हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको हुन् ।

कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार खगेरी सिँचाइमा यही असार १० गतेदेखि पानी छाड्न थालिएको हो । नारायणी लिफ्टमा पूजा गरेर पानी छाड्न थालिएको उनले जानकारी दिए । अहिले लिफ्टको ‘बी’ पम्पबाट पानी छाडिएको छ । उनले भने,‘पम्पको पूजा गरेर आजदेखि पानी छाडिएको छ ।’ असार १५ गते धान दिवसका अवसरमा रोपाइँका लागि पानी छाडिएको उनले बताए । गत आर्थिक वर्षमा पनि असार १० गतेबाट पानी छाडिएको थियो ।

‘सी’ पम्पबाट असार तेस्रो साताबाट पानी छाडिने उनले बताए । उनका अनुसार बी पम्पबाट एक दशमलव सात घनमिटर प्रतिसेकेन्ड पानी तानिने गरिन्छ भने सी पम्पबाट अधिकतम आठ घनमिटर प्रतिसेकेन्ड पानी छाड्ने गरिन्छ । नहर सरसफाइ गरेर मूल नहर र शाखाहरुमा पानी छाडिएको चालिसेले बताए ।

नारायणी लिफ्टबाट देवनगर, लङ्कु, टाइगरचोक, फूलबारी, राधापुर, श्रीपुर, तोरिखेत, पारसनगर, शिवनगर, गोरखाली टोल, गोन्द्राङ्, वन्देवी, काँडाघारी गौरीगञ्ज क्षेत्रको सिँचाइ हुँदै आएको छ । खगेरीबाट देवनगर, मङ्गलपुर, गीतानगर, पार्वतीपुर क्षेत्रमा सिँचाइ हुने गरेको छ । यस कार्यालयले धान र गहुँ बालीलाई लक्षित गरि नहरमा पानी छाड्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE