Skip to content
Shikhar Insurance
National Life

वैकुण्ठ धाम क्षेत्र: प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण माडीको पर्यटकीय गन्तव्य

Hyundai
NCELL
NIMB

चितवन । चितवनको दक्षिणी भेगमा अवस्थित माडी उपत्यकाले पर्यटकीय दृष्टिकोणले विशिष्ट पहिचान बनाउँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर पुगिने माडी प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले समृद्ध छ । विशेष गरी माडी–८ मा अवस्थित वैकुण्ठ धाम क्षेत्रले पर्यटकको मन लोभ्याइरहेको छ ।

वैकुण्ठ धाम क्षेत्रभित्र पर्ने वैकुण्ठ ताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भीर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हुन् ।

यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको हो । साथै कान्तिपुर सामुहिक खेती, फार्म स्टे र अयोध्या मार्ग जस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएका छन् । वैकुण्ठ तालमा हरेक वर्ष बाला चतुर्दशीमा मेला लाग्ने गरेको वैकुण्ठधाम फोटो तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताए ।

उहाँले बाला चतुर्दशीमा मन्दिरमा रातभर जाग्राम बसी बत्ती बाल्न र अर्को दिन बिहान वैकुण्ठ कुण्डमा स्नान गर्ने गरिँदै आएको बताए । उनले यस कुण्डमा स्नान गरिसकेपछि पाप नष्ट हुन्छ भन्ने जनविश्वास रहेको जनाए ।

उनले भने, ‘यो चितवन जिल्लाको माडी नगरपालिका वडा नं। ८ मा अवस्थित वैकुण्ठेश्वरधाम । धार्मिक तथा पर्यटकीय हिसाव महत्त्वपूर्ण हो वैकुण्ठ धाम । यो ठाउँमा हरेक वर्ष बाला चतुर्दशीमा मेला लाग्ने गर्छ । मन्दिरमा आएर रातभर जाग्राम बत्ती बाल्ने र बिहान वैकुण्ठ कुण्डमा स्नान गर्ने यहाँका विशेषताहरू रहेका छन् । यो कुण्डमा स्नान गरेपछि पाप नष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ । पौराणिक कालमा राम सीता वनवास आउँदा यहीँ कुण्डमा स्नान गरेको भन्ने पनि विश्वास छ ।’

वैकुण्ठधाम पुग्नका लागि भरतपुर–माडी–ठोरी हुलाकी सडक हुँदै खर कट्टासम्म पुग्नुपर्छ । त्यसपछि जङ्गलको छेउमा तीन किलोमिटर लामो पक्की सडक निर्माण भइसकेको छ । त्यहाँबाट करिव २० मिनेट उकालो हिँडेर वैकुण्ठ ताल पुगिन्छ ।

हरियाली जङ्गलको बीचमा रहेको यो सानो तालमा माथिबाट झर्ने झरनाले दृश्यलाई अझ रमणीय बनाएको छ । वैकुण्ठ तालभन्दा माथि झन्डै डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना अझै पनि कमै चिनिएको गन्तव्य हो ।

करिव ६० मिटर उचाईबाट खस्ने यो झरना स्थानीय स्तरमै नयाँ गन्तव्यको रूपमा विकास हुँदैछ । तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छ भने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना छ ।

पूर्व वडाध्यक्ष कृष्ण अधिकारीकाअनुसार माडीको यस क्षेत्रमा वि।सं। २०२०–२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत बीउ छर्ने परम्परा शुरु भएको हो । अधिकारीकाअनुसार त्यो अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् ।

अधिकारीले यहाँ धन प्राप्त हुने किंवदन्ती भएको हुनाले झरनालाई धनलक्ष्मी छहराको नाम दिइएको बताउँदै वैकुण्ठधाम क्षेत्र अत्यन्तै सुन्दर र रमाइलो रहेकोले सबैलाई आउनको लागि आग्रह समेत गरे

उनले भने, ‘वैकुण्ठधामबाट विभिन्न किसिमका प्राकृतिक छहरा, छाँगा, झरना, ताल, दहहरूको अवलोकन गर्दै यो ठाउँमा आउन सकिन्छ । यहाँ आइसकेपछि यहाँको रमाइलो सबै कुरा अवस्था र यहाँ धन प्राप्त हुने पनि पूर्खाहरूले धनलक्ष्मी छहराको नामबाट धन प्राप्त हुने किंवदन्ती भएको हुनाले यसलाई धनलक्ष्मी छहराको नामले चिन्दछौँ । यो अत्यन्तै सुन्दर र रमाइलो ठाउँमा रहेको छ र सबैलाई आउनको लागि पनि अनुरोध गर्छौं ।’

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडी क्षेत्रमा खहरे खोलाको सङ्ख्या धेरै हुनु र जङ्गली जनावरको उपद्रव भने स्थानीयको प्रमुख चिन्ताको विषय बनेको छ । बाघ र गैँडाजस्ता वन्यजन्तु देखाएर अन्य क्षेत्रमा पर्यटन फस्टाए पनि माडीमा अझै त्यसको समुचित लाभ उठाउन सकिएको छैन ।

धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण माडीको वैकुण्ठधाम क्षेत्र पर्यटनको दीर्घकालीन केन्द्र बन्न सक्ने सम्भावना बोकेको छ । पूर्वाधार विस्तार, प्रचारप्रसार र स्थानीय सहभागितामार्फत यस क्षेत्रलाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्नसके लाभ लिन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्