सिमकोट । सर्केगाड गाउँपालिका–१ कर्णाली करिडोरको कच्ची सडकका कारण यात्रुले सधैँ सास्ती खेप्नुपरेको छ । हिउँदयाममा सुक्खा पहिरो र वर्षायाममा पहिरो जाँदा उक्त सडकखण्डमा यात्रुले समस्या भोग्दै आएका छन् ।
नेपालगञ्ज, सुर्खेतलगायतका सहरबाट ठूला मालबाहक ट्रकदेखि यात्रु बोकेका सवारीसाधन दैनिक ओहरदोहर गरिरहन्छन् । कच्ची सडकका कारण सवारीसाधन दिनहुँ बिग्रदा पनि थप सास्ती हुने गरेको छ । धुलाम्मे सडकका कारण हुम्लाबाट कालीकोटसम्मको यात्रामा यात्रुले बडीजसो सास्ती खेप्नु परिरहेको यात्रु रमिता शाहीले बताइन् ।
कर्णाली करिडोरको हुम्लादेखि खुलालुसम्मको १३२ किलोमिटर सडकमा बढी समस्या हुने गरेको छ । कतिपय क्षेत्रमा ढुङ्गा बिछ्याएर सवारीसाधन सञ्चालनमा ल्याउनुपर्ने अवस्था छ । यो क्षेत्रमा खाना बस्नसमेत समस्या हुनेगरेको छ ।
नेपालगञ्जबाट सिमकोट पुगेकी बाँचु महतले भनिन्, ‘कतै सुक्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकले यात्रा कठिन भयो । केही ठाउँमा सडक फराकिलो भए पनि अधिकांश ठाउँमा यातायातका साधन ओहरदोहर गर्न समस्या छ ।’
कालीकोटको सान्नी घाट, रास्कोट, बाजुराको जगन्नाथ गाउँपालिका क्षेत्रको धुलाम्मे सडकमा यातायातका साधनलाई वारपार गर्न समस्या हुँदा यात्रुहरु मिलेर धुलो पन्छाउने र ढुङ्गा बिछ्याउने कार्य गरेर यात्रा गर्ने गरेका छन् । यहाँ सडक स्तरोन्नति गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्