Skip to content
Shikhar Insurance
National Life

एमालेले गैह्र आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन: प्रधानमन्त्री ओली

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैह्र आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गैह्र आवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले गैह्र आवासीय नेपाली संगठनलाई विधिसम्मत रुपमा चल्न पनि आग्रह गर्दै अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने जिकिर गरे । उनले गैह्र आवासीय नेपाली संगठनलाई राजनीतिक दलहरुका जनवर्गीय संगठन बन्नबाट बचाउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘विधिसम्मत ढंगले तपाईंहरु चल्नुस् । यो विधिको दुनियाँ हो । विधिको जमाना हो । विधि तोडेर यस जमानामा अगाडि जान्छु भन्नेकुरा यो त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन । राम्रा निष्कर्ष निस्किउन् । यस संस्थाको अस्तित्व रक्षाका लागि यस कन्क्लेभले निष्कर्ष निकालोस् । यस संस्थालाई पोल्टिकल पार्टीका जनवर्गीय संगठन बन्नबाट बचाउनका लागि, यस संस्थालाई अरु कसैको बेनिफिटका लागि प्रयोग हुनेकुराबाट जोगाएर समग्र नेपाली डायस्पोरा र नेपालको हितमा काम गर्ने, समर्पित हुने संस्थाको रुपमा अघि बढाउन तपाईंहरु सफल हुनुस् । त्यसका लागि युनिटीमा जोड दिने हो, विधिमा जोड दिने हो । विधि सम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ । नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ । नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ ।’

प्रधानमन्त्री ओलीले गैह्र आवासीय नेपाली संगठनलाई कसैको स्वार्थका लागि प्रयोग हुनबाट बँचाएर देशको हितमा काम गर्ने बनाउनुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्