काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योगमा काम गरेका श्रमिकहरुले तीन वर्षदेखि ज्याला नपाएको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले उद्योगमा काम गर्ने श्रमिकहरुमध्ये तीन जनाको मृत्यु भइसकेको र एकजना किड्नी फेल भएर अस्पताल भर्ना हुँदा समेत सरकारले ज्यालावापत पाउनुपर्ने रकम नदिएको आरोप लगाए ।
उनले अवकासमा गएको लामो समयसम्म पनि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति गर्दा श्रमिकहरुले ज्याला पाउन नसकेको बताए ।
उनले भने, ‘उदयपुर सिमेन्ट उद्योगका ३ वर्ष अगाडि नै अवकास प्राप्त गरिसकेका एकसय तीन जना अहिलेसम्म पनि कुनै सुविधा पाएका छैनन् । जसमध्ये अशोक चौधरी, उपेन्द्र रखाल र देवी बजागाईंको मृत्यु भइसकेको छ । साथै हेमकुमार दाहाल किड्नि फेल भएर अस्पतालमा छन् । उपचार गर्न सरकारले पैसा दिएको छैन । हामी सार्वजनिक संस्थानमा राजनीतिक नियुक्तिको उपज के हुँदो रहेछ देखिरहेका छौं । तर अर्को कुरा कुलमान जस्ता घाटामा गएको कम्पनी नाफामा पुर्याउनेहरुको मूल्याङ्कन हामी शुन्यमा गर्छौं । आफ्ना कार्यकता भर्ना गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बाहाना बाजी गरिराखेका छौं ।’
उनले सरकारले आफ्ना कार्यकर्ता भर्ना गर्न नपाएको कारण कुलमानलाई हटाउने खेल खेलिरहेको आरोप समेत लगाए ।
प्रतिक्रिया दिनुहोस्