न्युयोर्क । ट्यारिफ युद्धले संसारका अधिकांश देशहरुलाई तर्साईरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प अन्तत: लत्रिन थालेका छन् । आफ्नो ५१ औं राज्य बनाउने घोषणा गरिएको क्यानाडाका प्रधानमन्त्रीसँग वार्ता गर्न तयार बनेर ट्रम्पले आफ्नो अडान छाडेको संकेत दिएका हुन् ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको भन्सार शुल्क र संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकीलाई विलय गर्ने धम्की विरूद्ध उभिने प्रतिज्ञामा पुन: चुनाव जितेपछि पहिलो पटक मङ्गलबार डोनाल्ड ट्रम्पलाई भेट्दै छन् ।
लिबरल पार्टीका नेता समेत रहेका क्यानाडाका ६० बर्षिय प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा सबै कुरा उस्तै हुन नसक्ने बताएको छ र ह्वाइट हाउसमा हुने बैठकबाट कुनै पनि तत्काल सम्झौताको अपेक्षा नगर्न चेतावनी दिईसकेका छन् ।
आफ्नो मुख्य सहयोगी र व्यापारिक साझेदारका रूपमा लिने क्यानाडासँग ट्रम्पले ठूलो व्यापार युद्ध सुरु गरेका छन् भने क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न बारम्बार असाधारण आह्वान गर्दै आएका छन् । अन्यथा सैन्य बल प्रयोग गर्ने धम्की पनि दिँदै आएका छन् ।
रिपब्लिकन ट्रम्पले गत हप्ता कुरा गरेपछि कार्नीलाई ‘धेरै राम्रो सज्जन’ भनेका थिए तर सोमबार कार्नीले के कुरा गर्न चाहनुहुन्थ्यो भनेर ‘निश्चित नभएको’ बताए ।
ँउहाँ मलाई भेट्न आउँदै हुनुहुन्छ । मलाई पक्का थाहा छैन कि उहाँले मलाई के विषयमा भेट्न चाहनुहुन्छ, तर मलाई लाग्छ उहाँले सम्झौता गर्न चाहनुहुन्छ । सबैले चाहन्छन्”, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने ।
ट्रम्पले कार्नीलाई बिहान ११:३० बजे (१५३० जिएमटी) लन्च र त्यसपछि ओभल अफिसमा बैठक गरेर स्वागत गर्ने तयारी गरिएको छ ।
ट्रम्पले क्यानाडा र मेक्सिकोमा २५ प्रतिशतको सामान्य भन्सार शुल्क र अटोमा क्षेत्र–विशिष्ट लेभीहरू लगाएका छन् । तीमध्ये केही वार्ताको प्रतीक्षामा निलम्बित गरिएका छन् । उनले स्टिल र एल्युमिनियममा पनि यस्तै भन्सार शुल्क लगाएका छन् ।
कार्नीले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो राजनीतिक र आर्थिक परिवर्तन हुनसक्ने संयुक्त राज्य अमेरिकासँग क्यानाडाको सम्बन्धलाई पुन: निर्माण गर्ने वाचा गरेका छन् ।
ँनिरन्तर बढ्दो एकीकरणमा आधारित हाम्रो पुरानो सम्बन्ध समाप्त भएको छ । अब हाम्रा राष्ट्रहरूले भविष्यमा कसरी सहयोग गर्नेछन् भन्ने प्रश्न छ”, कार्नीले शुक्रबार भनेका थिए ।
क्यानाडाली प्रधानमन्त्रीले भन्सार शुल्कमा ‘सर्वोत्तम सम्झौता प्राप्त गर्न लड्ने’ पनि बताए ।
तर ट्रम्पका अति–वफादार वाणिज्यमन्त्री हावर्ड लुटनिकले सम्झौतामा पुग्न ‘साँच्चै जटिल’ हुने बताएका छन् ।
ँउनीहरूसँग उनीहरूको समाजवादी शासन छ र यसले मूलत: अमेरिकालाई पोषण दिइरहेको छ”, उनले सोमबार फक्स बिजनेसलाई भने, ँयो कसरी पूर्ण रूपमा काम गर्छ भन्ने म देख्दिनँ ।”
– महत्त्वपूर्ण क्षण –
अमेरिकी राष्ट्रपतिले क्यानाडाको चुनावमा सामाजिक सञ्जालमा एक पोस्ट गरेर सुरुआतमै आफूलाई समावेश गरेका थिए । पोस्टमा क्यानाडा ‘मान्यता प्राप्त ५१औँ राज्य बन्छ भने’ यसले ‘शून्य भन्सार शुल्क’ को सामना गर्नेछ भनिएको थियो ।
पियरे पोइलिभ्रेको कन्जर्भेटिभ पार्टी मत जित्ने बाटोमा थियो तर ट्रम्पको आक्रमण र अलोकप्रिय पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको प्रस्थानले प्रतिस्पर्धालाई परिवर्तन गर्यो ।
मार्चमा ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गर्ने कार्नीले मतदाताहरूलाई आफ्नो आर्थिक सङ्कट व्यवस्थापनको अनुभवले आफूलाई ट्रम्पको अवहेलना गर्न आदर्श उम्मेदवार बनाएको विश्वास दिलाएका थिए ।
राजनीतिका नव आगन्तुक कार्नीले पहिले बैंक अफ क्यानाडा र बैंक अफ इङ्गल्यान्डको गभर्नरका रूपमा सेवा गरे र पछिल्लो पदमा उनले २०१६ ब्रेक्सिट मतदानपछि बजारलाई आश्वासन दिन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
कार्नी आफ्ना शब्दहरू सावधानीपूर्वक तौल गर्नाका लागि परिचित छन् तर उनले अमेरिकी राष्ट्रपतिको घरेलु मैदानमा विवादास्पद ट्रम्पसँग व्यवहार गर्दा चुनौतीको सामना गर्नेछन् ।
ँयो उहाँका लागि धेरै महत्त्वपूर्ण क्षण हो, किनभने उहाँले चुनावी अभियानको बेला ट्रम्पको सामना गर्न सक्छु भनेर जोड दिनुभएको थियो”, ओटावा विश्वविद्यालयका राजनीतिक वैज्ञानिक जेनेभिभ टेलियरले भने ।
क्यानाडाका प्रधानमन्त्रीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको नियतिबाट पनि बच्नुपर्नेछ । जेलेन्स्की फेब्रुअरीमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबाट कठोर भर्त्सनामा परेका थिए ।
ँसबैले स्पष्ट रूपमा जेलेन्स्कीसँगको झगडा सम्झन्छन्”, टेलियरले भने, ँकार्नीको पक्षमा एउटा कुरा यो हो कि उहाँ ट्रुडो हुनुहुन्न, चलाख पूर्व प्रधानमन्त्री जसलाई ट्रम्पले क्यानाडाको ‘गभर्नर’ का रूपमा घृणा र तुच्छ ठान्नुभएको थियो ।”
पछिल्लो हप्ताको चुनावमा वामपन्थी झुकाव भएका नेताहरूले गरेको दुईमध्ये एकमा कार्नीको विजयले ट्रम्पको दृष्टिकोणलाई प्रभावित पारेको हुन सक्ने विश्वले पनि हेरिरहेको छ ।
कार्नीको विजय अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि ट्रम्पको भन्सार शुल्कको धम्कीले ओझेलमा परेको मतमा पुन: चुनाव जित्नुभन्दा केही दिनअघि आएको थियो ।
अमेरिकी राजधानीमा आइपुग्दा क्यानाडाली प्रधानमन्त्रीले आत्मविश्वासी स्वर व्यक्त गरे । ँक्यानाडा र संयुक्त राज्य अमेरिका सँगै काम गर्दा सबैभन्दा बलियो हुन्छन् – र त्यो काम अहिले सुरु हुन्छ”, उनले सामाजिक सञ्जालमा भने ।रासस
प्रतिक्रिया दिनुहोस्