चितवन । चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला १ अचम्म लागेर के गर्नु, यहाँ यस्तै पर्यटकीय गन्तव्यहरू छन् । तराईको उखरमाउलो गर्मी छल्न यस्ता ठाउँ पुग्नेहरू अचेल बढ्दै गएका छन् । यहाँको इच्छाकामना गाउँपालिकाले यस्ता शीतल पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिरहेको छ ।
जिल्लाका पहाडी भूभाग गर्मी मौसममा पनि शीतल हुने गर्छन् । भरतपुरको चौकीडाँडा, कालिका र राप्ती नगरपालिकाको पहाडी भूभागसँगै इच्छाकामनाको अधिकांश भूभागमा शीतल हुने गरेको छ । तीमध्ये धेरैको रोजाइ यही पालिकाका पर्यटकीय गन्तव्यहरू पर्ने गरेका छन् । गाउँपालिकाले यहाँ हरेक वर्ष करिब तीन लाखसम्म पर्यटक घुम्न र बस्न आउने अनुमान गरेको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ नारायणगढ मुग्लिन सडक नजिकैको लामो झरनामा गर्मी मौसममा धेरै आन्तरिक पर्यटक आउने गरेको बताए । वडा नं ६ मा पर्ने यस झरनामा वार्षिक करिब ६० हजार पर्यटक घुम्न आउने गरेको उनले सुनाए । ‘माथिबाट झरेको चिसो पानीको झरनामा नुहाउन र पौडी खेल्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको तथ्याङ्क छ । यसबाट वार्षिक रु २५ लाखसम्म राजस्व सङ्कलन हुने गरेको छ’, अध्यक्ष गुरुङ्ले भने ।
यसैगरी, जिल्लाको पुरानो सदरमुकाम उपरदाङ्गगढी सोही गाउँपालिका–७ मा पर्दछ । यसको पुन: निर्माणका काम भइरहेको अध्यक्ष गुरुङ बताए । ‘उपरदाङ्गगढी कसले बनायो, किन बनायो र त्यसको आवश्यकता के हो रु भन्ने पुष्टि हुनेगरी पुनर्निर्माण गरिरहेका छौँ । गढीमा जीर्ण अवस्थामा रहेको कोतघर पुरानै शैलीमा पुनर्निर्माण भइरहेको छ । पुराना विभिन्न किसिमका हातहतियार र वेशभूषा त्यो घरमा राख्ने मुख्य उद्देश्य रहेको छ’, उनले भने ।
गढी वरिपरि रहेका घरबास (होमस्टे) गर्मीयाममा पर्यटकले रुचाउने गन्तव्य हुन् । बिदाको समयमा यस क्षेत्रका होमस्टेमा ठाउँ पाउन मुस्किल हुने गरेको छ । उपरदाङ्गगढी क्षेत्रमा वार्षिक ३५ हजार बढीले अवलोकन गर्ने र करिब १५ लाख राजस्व सङ्कलन हुने गरेको छ ।
जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली वडा नं १ रहेको छ । यसको संरक्षण र प्रवर्द्धनका लागि पनि गाउँपालिकाले सिँढीसहितको बाटो बनाउने र सरसफाइ गर्ने काम गरिराखेको छ । ‘यहाँ रेलिङ, फलामे बेन्च, हेर्ने ठाउँ बनाइएका छन् । नजिकैको काली र सिद्धबाबा मन्दिरको संरक्षण गर्ने काम भएको छ’, अध्यक्ष गुरुङले भने,‘थप झन्डा राख्ने, स्तम्भहरू बनाउने, अन्य सानातिना पूर्वाधार बनाउने काम गरिरहेका छौँ । यहाँको सौन्दर्य नबिगार्ने गरी संरचना बनाउने काम गरिरहेका छौँ ।’
यहाँबाट चितवनसहित छिमेकी जिल्लाका धेरै जसो हिमाल, समथर भूभाग देखिने र चिसो हावा चलिरहने भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँ वार्षिक करिब १० हजार पर्यटक आउने गरेका गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । इच्छाकामना–२ मा पर्ने अर्को पर्यटकीय गन्तव्य हो, मायाँटार । यहाँ भरतपुरबाट धेरै पर्यटकहरू रात बिताउन पुग्छन् । स्थानीय जातका कुखुरा, खसी र स्थानीय परिकारका सौखिनहरूका लागि यो ठाउँ लोकप्रिय छ । चिसो ठाउँ भएकाले एक रात भए पनि बिताउन यहाँ पर्यटक पुग्ने गरेका हुन् । यसको नजिकै देवीदेवताका थान छन् । त्यहाँ दर्शन गर्न पर्यटकहरू पुग्ने गरेका छन् ।
त्यहाँको बालगौरी थानमा पूजा गरेमा नि:सन्तानले सन्तान प्राप्त गर्छन् भन्ने विश्वास छ । गाउँपालिकाको चिसापानीगढीको जङ्गलमा पैदलयात्रा गर्न रुचाउनेहरू पनि आउने गरेको अध्यक्ष गुरुङले बताए । चिसापानीबाट उपरदाङ्गगढी हुँदै सिराइचुलीसम्म जाने पैदलमार्ग पनि बनेको छ ।
पालिकाको इच्छाकामना मन्दिर वडा नं २, ३, ४ र ५ को सङ्गमस्थलमा पर्दछ । यहाँ धेरै जसो भारतीय पर्यटकहरू आउने गरेका छन् । अध्यक्ष गुरुङले भन्नुभयो, ँ काठमाडौँ, भक्तपुर, ललितपुबाट धेरै आउने गरेका छन् । वार्षिक ५० हजारभन्दा बढी पर्यटक मन्दिर दर्शनका लागि आउने गरेका छन् ।” मन्दिरका पुजारीलाई तलब दिएर राखिएको छ । त्यहाँबाट उठेको भेटी गाउँपालिकाको राजस्वमा जम्मा हुने व्यवस्था गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष माया सिलवालका अनुसार गाउँपालिकाको राजमार्ग क्षेत्रमा ठूला होटल भए पनि पर्यटकले ग्रामीण क्षेत्रका साना होटल र होमस्टेमा बस्न रुचाउँछन् । ‘हात्तीवाङको चेपाङ होमस्टे, मायाँटार, उपरदाङ्गगढीमा गुरुङ होमस्टेहरू छन् । मायाँटार जलबिरेमा होमस्टे छन् । पर्यटकीय गन्तव्यका वरिपरि सामुदायिक होमस्टेहरु छन् । सुन्तला फल्ने समयमा बोटबाटै सुन्तला खानसमेत यहाँ पर्यटक आउने गरेका छन्’, उनले भने । उपाध्यक्ष सिलवालले हाल गाउँपालिका क्षेत्रमा करिब १०० होमस्टे रहेका छन् । होमस्टेका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर बस्नेत पर्यापर्यटनको हिसाबले इच्छाकामना महत्त्वपूर्ण रहेको जानकारी दिए ।
गर्मी क्षेत्र नजिकको शीतल गन्तव्य भएकाले पालिका उच्च प्राथमिकता दिएर त्यस्ता स्थानको प्रवर्द्धन र प्रचारप्रसारमा लागेको उनले बताए । ‘यसै पालिकामा मनकामना केबुलकारको स्टेसन छ । त्यहाँबाट वार्षिक १० लाखभन्दा बढी पर्यटक मनकामना मन्दिर पुग्ने गरेका छन् । उचित प्रचारप्रसार हुन सकेमा इच्छाकामनाका पर्यटकीय गन्तव्यमा आन्तरिक र बाह्य पर्यटक बढाउन सकिन्छ’, बस्नेतले भने । गाउँपालिकाले लगानी सम्मेलन गरेर ठूला लगानीकर्तालाई पनि पर्यटकीय गन्तव्यमा होटल खोल्न प्रोत्साहित गर्ने तयारी गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्