काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथ प्रदर्शकहरु नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताएका छन् । बिहीबार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
पर्यटक पथ प्रदर्शकहरुले पर्यटकलाईमात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको बताउँदै उनले देशभक्ति भावना र व्यावसायिकतालाई सुदृढ बनाएर निष्ठाका साथ यो क्षेत्रमा लाग्न आग्रह गरे ।
मन्त्री पाण्डेले पर्यटक पथ प्रदर्शकहरुका तत्काल समाधान गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने मुद्दाहरु नीति, कानूनबाट समाधान हुने विश्वास व्यक्त गरे । उनले काठमाडौं केन्द्रित पर्यटक पथ प्रदर्शकहरुको सञ्जाल देशव्यापी विस्तारका विषयमा सम्मेलनमा छलफल हुने विश्वास व्यक्त गर्दै आउने समस्या समाधानका लागिसरकार साथमा रहेको बताए ।
उनले भने, ‘पर्यटकलाई गाइड गर्ने कुरा हाम्रो कर्तव्यभित्र पर्छ । यो कर्तव्यमा यहाँहरुले तदारुकताका साथ काम गर्नुहुनेछ । म यो मन्त्रालयको मन्त्रीको हिसावले के बचन दिलाउन चाहन्छु भने तपाईहरुका जतिपनि मुद्दाहरु छन् सरकारले समाधान गर्नुपर्ने । अहिले समाधान गर्नुपर्ने मुद्दा तत्काल समाधान गर्छौं । पछि समाधान गर्नुपर्ने मुद्दाहरु कसरी नीतिबाट, कानूनबाट के बाट समाधान हुन्छ सोहीअनुसार गर्दै जानेछौं । तपाईहरु टुर गाइडको हिसावले हामीहरु नेपालको पर्यटनको क्षेत्रको केन्द्रमा छौं । हामीले राम्रो भनिदिँदा दुनियाँले नेपाललाई राम्रो भन्छ ।’
‘नेपालको पर्यटन क्षेत्रको विकासको केन्द्रविन्दूमा छौं । हामीले केबल टुरिष्टहरुलाईमात्र गाइड गर्दैनौं । नेपाल देशको पर्यटन क्षेत्रको गाइड गर्छौं । हामी नै पथ प्रदर्शक हो नेपालको पर्यटन क्षेत्रको विकासको पथ प्रदर्शक हामी हो भन्ने कुराको देशभक्ति, त्यो भावना र व्यावसायिकतालाई राम्रो बनाएर, अझ मजबुद बनाएर सुदृढ बनाएर निष्ठाकासाथ यो क्षेत्रमा लाग्नुहुनेछ । यो क्षेत्र केबल काठमाडौं केन्द्रित छ । यसलाई सातै प्रदेशमा कसरी विस्तार गर्ने ? सात प्रदेशमा यसको विस्तार कसरी गर्ने ? सम्बन्धित क्षेत्रमा पर्यटन र पर्यटक टुर गाइडको विस्तार देशव्यापी बनाउने बारेमा तपाइहरुको सम्मेलन सफल हुनेछ भन्ने विश्वास लिएको छु । तपाईहरुको साथमा हामी छौं र नेपाल सरकारपनि छ भन्ने विश्वास दिलाउन चाहन्छु’ उनले बताए ।
उनले पर्यटक पथ प्रदर्शकहरुले राम्रो बोल्दा दुनियाँले राम्रो भन्ने र एक पटक आएको पर्यटक पटकपटक आउने बताए ।
प्रतिक्रिया दिनुहोस्