काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको घटनासम्बन्धी मुद्दाको थुनछेक बहस बिहीबार साँझ काठमाडौं जिल्ला अदालतमा सकिएको छ ।
तर, बहस सकिएको करिब ६ घण्टा बित्दासम्म पनि अदालतको आदेश आउन सकेको छैन । अदालत स्रोतका अनुसार, न्यायाधीश ध्रुवराज कार्की आदेश लेखनमा व्यस्त छन्, र आजै आदेश आउने सम्भावना रहेको बताइएको छ।
जिल्ला अदालत काठमाडौंमा २० जेठदेखि सुरु भएको थुनछेक बहस न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा निरन्तर चल्दै आएको थियो । बहस सकिएसँगै अदालत वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ, र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
तीनकुने घटनासम्बन्धी मुद्दा ११ जेठमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरुद्ध दायर गरेको थियो। यसमध्ये ३९ जना हाल हिरासतमा छन्। ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो, र उनीहरू धरौटी बुझाएर रिहा भइसकेका छन् । चार जना नाबालक भएकाले उनीहरूलाई भक्तपुर पठाइएको छ ।
मुख्य प्रतिवादीको रूपमा व्यवसायी दुर्गा प्रसाईंसहित आठ जनामाथि कर्तव्य ज्यानको समेत मुद्दा दायर गरिएको छ । प्रसाईंलाई आन्दोलनका क्रममा मुख्य कमाण्डरको रूपमा हेरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि यो मुद्दा अदालतमा पुगेको हो । मुद्दा दायर भएको १८ दिन बितिसक्दा पनि आदेश आउन ढिलाइ भएकोले प्रतिवादीहरू इजलासबाहिर पर्खिरहेका छन् । अदालत स्रोतले केहीबेरमा आदेश आउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्