काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिएका हुुन् ।
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे ।
कुनैपनि सरकारले आयोजना गरेका कार्यक्रमहरुमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरुको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए । कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरुको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलन चाहीँ छोड्दा पनि हुन्छ की क्यो हो । कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ । कहिल्यै देखा पर्दैन । त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् की जस्तो लाग्छ । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ । आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने । यस्तो हुँदैन । अर्को पल्टसम्ममा सोधीखोजि गर्नुहोला । हेर्नुहोला रेकर्ड को एक पटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो की होइन सोधेर आउने नभए नाम नराख्नु होला । हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने ।’
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्