काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन् । सोमबार काठमाडौंमा सुवास घिमिरेले लेखेका विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काँग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गर्दै सँगै काँग्रेसमा एउटा अवसर पनि रहेको बताए । उनले काँग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि काँग्रेसकै रहने बताउँद अब गभर्नर पनि काँग्रेसकै भागमा रहेको बेलामा पनि काँग्रेसीजनमा खुशी नरहेको जनाए ।
महामन्त्री थापाले भने, ‘अब हाम्रो जेनेरेशनको साथीहरुले एउटा संकल्प गर्ने बेला आएको छ । नेपाली काँग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ । उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर म एउटा अवसर पनि छ भनिरहेको छु । नेपाली काँग्रेस पार्टीका सन्दर्भमा हामीले लामो समयदेखि टेक्निकल र ब्युरोकेटिक कुरा गर्यौँ । चुनावको कुरा, चुनाव जित्नुपर्छ भन्यौँ । को उम्मेदवार बन्ने कुरा गर्यौँ । हामीले अहिले चुनाव जितेका छौँ, नेपालको सबैभन्दा ठूलो पार्टी हो हामी अहिले । हामी सबैतिर सरकारमा छौँ । हामी नभएको ठाउँ नै छैन । पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार । अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो । अब सबै हाम्रो । अब गभर्नर हाम्रो, उ हाम्रो, जताततै हाम्रो । खुशी हुनुपर्ने नि त काँग्रेस त । सबै हाम्रो भएको बेलामा किन खुशी नभएको त रु हामीले खोजेको त्यो होइन रहेछ ।’
महामन्त्री थापाले काँग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताउँदै नोपली समाजमा एउटा उकुसमुकुस रहेको बताए । बाहिर आउने र जानेकुरा चलिरहने बताउँदै नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्