काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८४ करोडको हुने अनुमान गरेको छ । सुदूरपश्चिम प्रदेशको ‘आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार सो अनुमान गरेको हो ।
आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १.२० प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
त्यसैगरी, चालु आव २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनको आकार ४ खर्ब ४ अर्ब २८ करोड र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.४१ प्रतिशत र आधारभूत मूल्यमा ३.०६ प्रतिशत रहने अनुमान गरिएको छ भने आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर ३.४२ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर ०.५० प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर ४.०९ प्रतिशत रहने अनुमान गरेको छ ।
सुदूरपश्चिममा प्रमुख कृषि बालीको उत्पादन २.८५ प्रतिशतले बढ्यो
समीक्षा वर्षमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू-क्षेत्र ७.७१ प्रतिशतले ह्रास भएको छ भने यस्ता बालीको उत्पादन २.८५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा वर्षमा प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र जौंको उत्पादन क्रमश: ६५.७१ प्रतिशत र २५.०३ प्रतिशतले वृद्धि भएको छ भने तेलहनको उत्पादनमा सबभन्दा बढी १८.५३ प्रतिशतले ह्रास आएको छ ।
पशुजन्य उत्पादन अन्तर्गत दूध ४.५८ प्रतिशत मासु ९.३२ प्रतिशत र अण्डा ६.४४ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १०.८१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ ।
२०८१ असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा १.३१ प्रतिशतले ह्रास भई १६ अर्ब ५२ करोड ८५ लाख पुगेको छ ।
उद्योगहरुको औसत क्षमता उपयोग ४८.९६ प्रतिशत
समीक्षा वर्षमा प्रदेशका अध्ययन नमूनामा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४८.९६ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये समीक्षा वर्षमा चामल र गहुँको उत्पादन वृद्धि भएको छ भने तोरीको तेल, साबुन, ईटा, चिनी र रोजिनको उत्पादनमा ह्रास आएको छ ।
समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १६।७५ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ भने उक्त क्षेत्रमा प्रवाह भएको कर्जा २०८० असार मसान्तको तुलनामा ४।७९ प्रतिशतले ह्रास भई २५ अर्ब ६० करोड १८ लाख पुगेको छ ।
सुदूरपश्चिम प्रदेशको पर्यटकस्तरीय होटल तथा लजको संख्यामा ४.१७ प्रतिशतले कमी
समीक्षा वर्षमा पर्यटकस्तरीय होटल तथा लजको संख्यामा ४.१७ प्रतिशतले कमी आएको छ भने होटल शैयाको संख्या १.४७ प्रतिशतले घटेको छ ।
समीक्षा वर्षमा घरजग्गा रजिष्ट्रेशन संख्या ८.२३ प्रतिशतले घटेको छ भने रजिष्ट्रेशन राजस्व ३१.०४ प्रतिशतले वृद्धि भएको छ । २०८१ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १६.०९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ०.७५ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा यातायात साधन संख्या ४.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको ७२.४४ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ६६.५५ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये ६२.०६ प्रतिशत खर्च भएको छ ।
सुदूरपश्चिम प्रदेशमा २४ हजार २५ जनाले लिए वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति
२०८० फागुनसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट कुल १७१ मेगावाट विद्युत उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशबाट जम्मा २४ हजार २५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिर्जित रोजगारीमा खटिएका व्यक्तिको औषत रोजगारी दिन ६५.७७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्