काठमाडौं । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाउँदै गभर्नर नियुक्तीमा पनि तिनै बिचौलिया हावी हुन लागेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सांसद कोईरालाले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे । उनले अघि भने –हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको छ । अगर त्यो हो भने म त वार्न(सचेत) गर्दछु सरकारलाई । अगर त्यो हो भने नेपालको लागि दुर्भाग्य हुन्छ । सरकारको लागि त दुर्भाग्य हुन्छ नै । नेपालको लागि नै दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो । देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरु कसैलाई पनि छैन ।’
राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको भन्दै त्यस्तो भएको हो भने देशकै लागि दुर्भाग्य हुने बताए । देशको अर्थतन्त्रसँग खेल्ने कुचेष्टा कसैले गर्न नहुने बताए । सुशासन दिन्छौँ भनेर सरकारले भनिरहे पनि औचित्य सावित हुन नसकेको उनले बताए । नेतृत्वमा राजनीतिक इच्छाशक्ति भए देश विकास गर्न सकिने उनको भनाइ छ ।
देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फत ऐन ल्याएको र सुधार हुने आशा रहेको तर त्यहाँ पनि विचौलियाको खेल हुनसक्ने आशंका व्यक्त गरे ।
सांसद कोईरालाले प्रतिप्रश्न गर्दै अघि भने, आर्थिक अवस्था एकदम नाजुक छ देशको । त्यसलाई सुधार गर्दै अघि लैजाने । सुधार गर्ने प्रक्रियाहरु अघि बढे भनेर अध्यादेशमार्फत ऐन पनि आयो । हुन्छ की भन्ने आशा छ । कत्तिको हुन्छ हेरौँ । कि त्यहाँ पनि फेरि विचौलियाहरुकै खेल छ की ?
उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि विचौलियाहरुबाट सचेत र शतर्क रहन जरुरी रहेको बताए । उनले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएको राजीनामाको बारेमा प्रसंग निकाल्दै विचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए ।
उनले भने, ‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभूवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो । किनभने मलाई धेरै प्रेसर पर्यो । मैले सकिनँ भनेर भन्नुभयो । हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु । विचौलियाहरु । हाम्रा नेतृत्वहरु विचौलियाहरुको खेलमा इन्भल्व हुनुहुन्छ । त्यो कारणले यो समस्या आइरहेको छ । नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन, चार वटा कुरामा हामीले ध्यान दिनुपर्छ । त्यसो गर्नसके नेपाललाई समृद्ध बनाउन सकिन्छ ।’
सांसद कोईरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताए । उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्नेकुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसदको रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गरेको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताए ।
काँग्रेस—एमालेको सरकार बनेको ९ महिना बितिसक्दासमेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दु:खद् भएको बताए ।
उनले सुशासन र सदाचारका प्रतिवद्धताहरु कार्यान्वयनको खोजी गर्ने समय आईसकेको पनि बताए । ‘‘त्यसपछि उहाँहरुले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्युनिकरण गर्छौं भन्नुभयो । सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीले सावित गर्न सकिरहेका छैनौँ । उपायहरु छ । त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरुमा, नेतृत्वमा हुनुपर्छ । राजनीतिक इच्छाशक्ति भयो भने गर्न सकिन्छ, हामी सक्छौँ । के नेपाललाई बनाउन सकिँदैन, नेपाललाई बनाउन सकिन्छ । अहिले युवाहरु पलायन भइरहेका छन् ।’, डा. कोइरालाले भने ।
सांसद कोईरालाले हाइड्रोपावर, कृषि, ग्रिन इण्डस्ट्रीलाइजेसन, डिजिटलाइजेसन क्षेत्रमा बढी जोड दिनसके नेपाल समृद्ध बन्ने बताए । उनले सबै प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउन नसकिरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्