काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताका पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले देशको राजनीतिक अवस्था हेर्दा सरकारले मुलुकलाई राम्रोसँग हाँक्न नसकेको बताउँदै सरकारले जनभावनालाई बुझ्न र जनचाहनाको सम्मान गर्न नसकेको बताए । सरकारले यो सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको बताए ।
वर्तमान सरकार जनमुखी नभइ जनविरोधी, सुशासनको नभइ कुशासनको पक्षपोषक रहेको आरोप लगाए । त्यसैले यो सरकारलाई साथ दिन नसकिने उनको स्पष्टीकरण छ । वर्तमान सरकारको पतन अनिवार्य रहेको र समय मात्रै पर्खिनुपर्ने बताए ।
अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्रोसँग हाँक्न सकेको छैन । जनभावनालाई बुझ्न सकेको छैन । जनचाहनालाई सम्मान गर्न सकेको छैन । सही नीति अवलम्वन गर्न सकेको छैन । जनताका पीडा, वेदनालाई सम्बोधन गर्न पनि सकेको छैन ।’
‘त्यसो हुनाले यो सरकारले जनताको विश्वास पनि जित्न सक्दैन, जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था छैन । यो सरकार जनमुखी होइन, जनविरोधी हो । यस्तो सरकार जुन सुशासनको पक्षधर होइन, कुशासनको पक्षपोषक हो । यस्तो सरकारलाई हामीले साथ दिने कुरै आउँदैन । यसको पतन अनिवार्य छ । खालि हामीले समय पर्खिनुपर्ने हुन्छ । आत्तिनुपर्ने केही आवश्यकता छैन’ उनले भने ।
अध्यक्ष नेपालले देशमा आर्थिक मन्दी, बेरोजगारी बढिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्