काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको अधिकतम विकासका लागि सरकारले प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताएका छन् ।
‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा राष्ट्रियसभा सदस्यले उठाउनुभएको जिज्ञासाको जवाफमा मन्त्री चौधरीले स्रोतको अधिकतम उपयोग गरी खेलकद क्षेत्र र खेलाडीको क्षमता वृद्धिका लागि काम गरिने बताएका हुन् ।
आफ्नो मन्त्रालयलाई प्राप्त भएको बजेट सिलिङअनुसार समावेशी तवरले विनियोजन गरिएको भन्दै उनले उक्त रकम युवा तथा खेलकुद क्षेत्रको उन्नयनका लागि परिचालन गरिने उनले विश्वास दिलाए ।
राष्ट्रिय गौरवका रूपमा अगाडि सारिएका क्रिकेट रङ्गशाला निर्मााणलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको काम उल्लेखनीय रूपमा अगाडि बढेको बताए । उनले मूलपानी क्रिकेट रङ्गशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालगायत १२ वटा रङ्गशाला बनाउन लागिएको उल्लेख गरे ।
फुटबल क्षेत्रका लागि कम्तीमा ५० वटा रङ्गशाला निर्माणको योजनासहित आवश्यक बजेट विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिए । उनले खेल विधामा गाउँदेखि प्रतिभावान् खेलाडी पहिचान गर्नेगरी आवश्यक तयारी गरिएको बताए ।
भौतिक पूर्वाधारको विकास भइनसकेकाले १०औँ राष्ट्रिय खेलकुद तोकिएको समयमा सञ्चालन हुन नसकेको जनाउँदै शीघ्र सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले सो प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइएकाले आगामी आवमा ऐतिहासिक रूपमा सम्पन्न हुने बताए । मन्त्री चौधरीले ७५३ स्थानीय तहमा स्काउटको समिति बनाउन लागिपरेको समेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्