Skip to content
Shikhar Insurance
National Life

‘सत्ता र शक्तिमा भएकाहरूको गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय हुन्छ’ अध्यक्ष केसी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरी लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले पनि संसद् जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताउँदै आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । अध्यक्ष केसीले सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय भएर जाने बताए । उनले देशमा केही हुन्न भन्ने भाव नयाँ पिँढीमा भएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने बताउँदै सङ्घीय प्रणाली नेपालको प्रगति र उन्नतिको लागि नल्याइएको जिकिर गरे ।

उनले भने, ‘नयाँ पिँढीलाई दुई वटा रोग छ । यहाँ केही हुन्न । लाखौँ लाख बेचेकै छौँ त हामीले त । पैसा लिनी अनि भेडा बाख्रा जस्तो लेनदेन नभए पनि हामीले बेचेकै त हो । यस्तो शिक्षा प्रणालीले देश बन्छ ? माननीय अमरेशजीले भनेको कुरासँग मेरो पनि आपत्ति छ । यो सङ्घीयताको कारणले कतै देश अन्तै विलीन हुन्छ कि भनेर म पनि डराउँथे । आज उहाँको मुखबाट फ्याट्ट आइहाल्यो ।’

‘यो सङ्घीय प्रणाली नेपालको प्रगतिको लागि, नेपाली जनताको उन्नतिको लागि ल्याइएकै होइन । अहिले पनि संसद् हामीले जसरी चलाइरहेका छौँ, यस्तै गरेर संसद् टिक्छ ? लोकतन्त्रमाथि यो व्यापक आक्रमण, गणतन्त्रमाथि आक्रमण हाम्रो कमजोरीले होइन ? हाम्रो आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरता पूर्वक लिनुपर्छ । सत्ता र शक्तिमा भएकाहरूले के भन्छन्, त्यसैको गोटी बनेर हिँड्ने हो भने हाम्रो दिनप्रतिदिन इज्जत क्षय भएर जान्छ’ उनले भने ।

उनले सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रको लागि दुर्दशा भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्