काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा पुगेको बताएका छन् । शनिबार मधेस प्रदेशको जनकपुरमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुुन् ।
उनले देशको अर्थतन्त्र एकदम नाजुक अवस्थामा रहेको बताउँदै राज्यले उठाउने राजश्वले नेता तथा कर्मचारीलाई तलबभत्ता खुवाउन नपुग्दा वैदेशिक ऋण लिनुपर्ने दु:खद् अवस्था रहेको बताए । उनले संघीयता कार्यान्वयन हुनुअघि ६ खर्ब १५ अर्ब ऋण भएकोमा एक दशकमा ऋण बढेर २६ खर्ब ७६ अर्ब पुगेको जनाए ।
उनले भने, ‘देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा छ । र हामी हाम्रो समयकै खराब अवस्थामा छौँ । अहिले देशको राजश्वले अथवा देशले जति पैसा उठाउँछ राजश्व त्यसले नेताहरुलाई कर्मचारीहरुलाई तलबभत्ता खुवाउन पुग्दैन । कर्मचारी र नेतालाई तलब भत्ता खुवाउनका लागि हरेक महिना राज्य ऋण लिनुपर्ने अवस्था छ । भनेपछि सरकारले देशको अर्थतन्त्र जतिसुकै राम्रो छ भने पनि देशको अवस्था के छ भन्ने कुरा यही कुराले बताउँछ । जब हाम्रो आम्दानीले देशको साधारण खर्च पुग्दैन भने देशको अवस्था ठिक छ रु यो संघीयता कार्यान्वयन हुनु भन्दा अगाडि अर्थात यो संविधान जारी हुनुभन्दा अगाडि देशको ऋण ६ खर्बमा थियो । आर्थिक वर्ष २०७२/७३ मा हाम्रो ऋण राष्ट्रिय ऋण ६ खर्ब १५ अर्ब थियो, अहिले यहाँ पुग्दा हाम्रो राष्ट्रिय ऋण २६ खर्ब ७६ अर्ब पुग्यो ।’
अध्यक्ष लिङदेनले आर्थिक, राजनीतिक, सामाजिकलगायत विभिन्न कारणले देशको अवस्था चौपट रहेको बताउँदै देश असफल राष्ट्रको दिशामा अग्रसर भइरहेकाले समयमै खबरदारी गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्