नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताएका छन् । बुधबार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उजले यस्तो बताएका हुन् ।
उनले राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले देश बन्न नसकेको बताउँदै ऋण लिने तर ऋणको सही ढंगबाट सदुपयोग नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।
उनले नेपालको राजनीतिमा अहिले एकातिरबाट सरकार ढल्यो भन्ने भ्रम फैल्याउने र अर्कोतर्फबाट ढल्दैन भनेर स्पष्टीकरण दिइरहनुपरेको बताउँदै भने, ‘अहिले वास्तवमा नेपालको राजनीतिमा एउटा कुनामा सरकार ढल्छ, ढल्छ, ढल्छ भनेर समाचार बनिरहने र अर्को कुनाबाट त्यसको प्रतिउत्तरका लागि सरकार ढल्दैन, ढल्दैन, ढल्दैन भन्ने समाचारहरु मात्रै सुन्नुपर्ने, पढ्नुपर्ने अवस्थामा कमसेकम आज नयाँ ढंगको कुरा सुन्न पाइयो । राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले गर्दा अवस्था परिवर्तन गर्न सकेनौँ ।’
उपसभापति गुरुङले पोखरा—मुग्लिङ सडक फोर लेन र मुग्लिङ—काठमाडौं डेडिकेटेड डबल लेन मात्रै बनाउने कुरा अव्यवहारिक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्