Skip to content
Shikhar Insurance
National Life

तीन जनालाई रोजगारसमेत दिएका सुरेशले नर्सरी व्यवसायबाटै मनग्य आम्दानी गर्दै

Hyundai
NCELL
NIMB

कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आएका छन् । उनले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएका हुन् ।

केही समय पहिले विश्वकर्माले काठमाडौंमा बिरुवासम्बन्धी काम गर्दै आएको एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय सुरु गरेका हुन् । उनले वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिइ व्यवसाय गर्दै आएका छन् ।

हालसम्म रु ५० लाख लगानी भएको बताउँदै उनले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएको जानकारी दिए । उनको परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन् । परिवारको सम्पूर्ण लालनपालनका साथै छोराछोरीको शिक्षादिक्षा यसै व्यवसायबाट धान्दै आएको उनले बताए । व्यवसायमा काम गर्ने तीन जना कामदारलाई मासिक रु १२ हजारका दरले तलब दिँदै आएको विश्वकर्माले जानकारी दिए ।

‘अन्य व्यवसायभन्दा यो व्यवसाय अलिकति जोखिम छ’ उनले भने, ‘कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न असर देखापरे बिग्रने, कुहिने, रोग लाग्ने गर्दछ, जसले गर्दा घाटा व्यवहोर्नुपर्ने हुन्छ ।’

धन आर्जन गर्न विदेश मात्र नभई स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने मान्यताबाट व्यवसाय सुरु गरेको विश्वकर्माले बताए । नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा ल्याएर बिक्री गर्दै आएको उनले बताए । केही बिरुवा नर्सरीमा आफैँ उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्