काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको बताएका छन् । बिहिबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोलदै उनले यस्तो बताएका हुन् ।
उनले कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइएको भएपनि नदिले धार परिवर्तन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन नसकिएको बताए । उनले आयोजनाको दिगो सञ्चालनको लागि प्राविधिक एवं आर्थिक विकल्पको खोजि भइरहेको बताए ।
उनले भने, ‘सुनसरी मोरङ सिंचाई आयोजनाको कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइरहेको छ । विगत केही वर्षदेखि कोशी नदिले धार परिर्वन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन सकिएको छैन । तर आयोजनाले प्रत्येक हिउँदमा अस्थायी बाँध बाँधेर यथासम्भव पानी इन्टेकमा प्रवेश गराई सिंचाई सुविा पुर्याउँदै आएको छ । स्थायी प्रकृतिको संरचना निर्माण गरि दिगो तवरले वर्षैभरी पानी संचालन कसरि गर्न सकिन्छ भनेर विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको छ । प्राविधिक र आर्थिक रुपले सम्भावित विकल्पहरुको छनोट गरि गृहकार्य अगाडि बढाइनेछ ।’
सुनसरी मोरङ सिंचाई आयोजनाले मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजार गरी ६८ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पुर्याउदै आएको छ । ५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर शाखा नहर, प्रशाखा नहर तथा कुलो कुलेसो गरी सो आयोजनाको नहरको लम्बाइ १ हजार ५ सय किलोमिटर भन्दा बढी छ ।
प्रतिक्रिया दिनुहोस्