काठमाडौं । सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताएका छन् ।
डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विभिन्न विधेयकहरूलाई कानूनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताए । उनले संसद चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको जिकिर गरे ।
उनले संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले कानून बनाउने, कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राखे ।
उनले भने, ‘गाउँघरतिर एउटा उखान छ, म पछार्न न पछार्ने थिए तर मलाई खुट्टै टेक्न दिएन । थुप्रै विधेयकहरूलाई कानुनको रूप दिनको लागि हामी तल्लीन छौँ, त्यो गर्न सकिन्छ र गर्छौ पनि । तर, संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको छ । संसद नै चल्न नसकेको अवस्थामा सङ्घीय निजामती सेवासम्बन्धी ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन अड्किएर बसेको छ, थुप्रै कुराहरू अड्किएका छन् ।’
‘यी अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भुमिका निर्वाह गर्नुपर्छ । संसद्लाई कसरी प्रभावकारी पार्न सकिन्छ ? मत फरकहरू, विचार फरकहरू खेल्ने र एउटा निष्कर्षमा पुर्याइ त्यसलाई कार्यान्वयन गर्ने थलोको रूपबाट र खास गरी कानुन बनाउने र कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने, सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई त्यसरी सञ्चालन गर्ने विधि के हुन सक्छन्, यो हाम्रो सन्दर्भमा पनि हामीले सोच्नु जरुरी छ’ उनले भने ।
उनले कार्बन उत्सर्जन गर्ने कामहरूलाई नियन्त्रण गर्न तत्कालै नलागे भविष्यको मात्रै नभएर आजकै जीवन गम्भीर बन्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्