दाङ । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् ।
स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्छन् । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षे उनले गत वर्ष मात्रै रु १८ लाख बराबरको स्ट्रबेरीको कारोबार भएको बताए । ‘गत वर्ष रु ११ लाख त बचत नै भयो’ उनले भने ‘अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।’ उनका अनुसार यस वर्ष हालसम्म ४ लाखभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको छ ।
साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरेका हुन् । उनले स्ट्रबेरी प्रतिकिलो खुद्रामा रु सात सय र थोकमा रु पाँच सयमा बिक्री भइरहेको बताए । उनले स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको सुनाए ।
किसान साउदले भने, ‘कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।’ परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए ।
घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिक रुपमा स्ट्रबेरीखेती गर्दै आएका छन् । स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ ।
उनले भने, ‘सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा रु सात लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।’ उनका अनुसार कूल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको उहाँले बताए ।
‘स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येमा पर्छ’ उनले भने ‘आज भोलिको समय राम्रो हुन्छ ।’ जिल्लामा पछिल्लो समय व्यावसायिक रूपमा यसको खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेको उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्