काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु भएको बताएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताए । उनले लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने जानकारी दिए । उनले दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताए ।
नेपाली काँग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति नै आफू भएपनि दुई ठूला दलको सरकार हुँदा निरंकुशताको डर हुने जानकारी दिए । उनले गलतलाई गलत भन्ने आँट नभए नेपाली काँग्रेसको औचित्य सकिने बताए ।
नेता कोईरालाले अध्यादेश सरकार चल्नै नसक्ने अवस्था भए मात्रै ल्याउनुपर्ने बताए । भूमि सम्बन्धी अध्यादेश जस्ताको त्यस्तै पास भए केही गर्न नसकिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्