काठमाडौं । चालु वर्षको ११ महिनामा १० खर्ब ४४ अर्ब ७६ करोड १६ लाख राजस्व संकलन भएको छ । कर, गैरकर, अनुदान र अन्य शिर्षकमा गरी कुल सो बराबरको प्राप्ती सरकारले गरेको हो ।
यो अवधिमा कर र गैरकर शिर्षकमा १० खर्ब १६ अर्ब ८ करोड ५३ लाख राजस्व संकलन भएको छ । अनुदान तर्फ १७ अर्ब ९ करोड १८ लाख र अन्य शिर्षकमा ११ अर्ब ५८ करोड राजस्व संकलन भएको छ ।
सरकारले ११ महिनामा १२ खर्ब ८३ अर्ब १६ करोड ६ लाख भुक्तानी दिएको छ । जसमा चालु शिर्षकमा ८ खर्ब ५१ अर्ब ७९ करोड ७९ लाख भुक्तानी भएको छ । पुँजीगत खर्चतर्फ १ खर्ब ४३ अर्ब ३९ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ८७ अर्ब ९७ करोड ३६ लाख भुक्तानी भएको छ ।
सरकारले चालु वर्ष १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख राजस्व असुल गर्ने लक्ष्य लिएको छ । राजस्वको यो लक्ष्य पुरा गर्नका लागि अब सरकारले ३० दिनमा ३ खर्ब ७४ अर्ब ५४ करोड १४ लाख असुल गर्नुपर्ने हुन्छ ।
यो हिसाबले लक्ष्य पुरा गर्नका लागि सरकारले दैनिक ११ अर्ब ७० करोड ४४ लाख राजस्व असुल गर्नुपर्ने हुन्छ । यो लगभग असम्भव जस्तै हो । किनभने सरकारले अहिले दैनिक औषतमा ३ अर्ब १३ करोड ७४ लाख राजस्व संकलन गर्दै आएको छ ।
यसैगरी, खर्च लक्ष्यमा पनि सरकार निक्कै पछि परको छ । सरकारले यो वर्ष १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च गर्ने लक्ष्य राखेको छ । एक महिनामा खर्च लक्ष्य पुरा गर्नका लागि ५ खर्ब ७७ अर्ब १४ करोड २४ लाख खर्च गर्नुपर्ने हुन्छ । जसको लागि अबको ३२ दिनमा दैनिक १८ अर्ब ३ करोड ५७ लाख खर्च गर्नुपर्ने हुन्छ । यो लगभग असम्भव जस्तै छ । किनभने सरकारको दैनिक औषत खर्च ३ अर्ब ८५ करोड ३३ लाख मात्रै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्