काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले सरकार र जनप्रतिनिधिप्रति आशाको दृष्टि राख्ने जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले मनसुन शुरु भइरहेको र बाढी,पहिरो आउन थालिसकेको अवस्थामा बजेट पास नहुँदा जनताप्रतिको उत्तरदायित्वबाट विमुख हुनुपर्ने अवस्था आउने बताएका हुन् ।
उनले जतिसुकै आदर्शका कुरा गरेपनि आफूले गरे ठिक अर्काले गरे बेठिक हुने भनेर अगाडि बढ्दा गन्तव्यमा पुग्न नसकिने स्पष्ट पारे । विभिन्न समयमा भएका आन्दोलन र त्यसमा सहादत प्राप्त गरी ल्याइएको व्यवस्थामा आफू र आफ्ना लागिमात्र लडिरहँदा जनताले हामीप्रति गर्ने कटाक्ष स्वभावत: ठीक हुने सांसद भट्टको भनाई थियो ।
लोकतन्त्रवादीहरुले इगो प्रबलमका कारण यो व्यवस्थाप्रति टाउको हल्लाउनेहरुलाई बल पुर्याउने काम गरिरहेको भन्दै सांसद भट्टले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
उनले भने, ‘मलाई एउटा कुरा के लागिरहेको छ भने आज राष्ट्रिय सभाले आफ्नो भुमिका निर्वाह गर्ने कुरा स्वागतयोग्य हो । वाद होला विवाद होला । तर यो बजेट नै रोकियो भने २ वर्ष कोभिडको महामारी झेल्यौं । फेरि सुदूरपश्चिमबाट कोभिडको विमारीहरु देखिन थालिसके । र, हामी यो बजेट पास गर्ने कुरामा लागिरहेका छौं तर हाम्रो एउटा सदन अवरुद्ध छ । सामुन्ने वर्षा पनि छ बाढी पहिरोले अलिअलि छुन थालिसकेको छ । बजेट नै पास भएन भने दलीय कुरा त गर्दै गरौंला तर हाम्रा जो सरकारप्रति, हामीप्रति आशाको दृष्टिले हेर्ने जनताप्रति हामी सबैको उत्तरदायित्व हो ।’
उनले आपसमा मतभेद रहनु स्वाभाविक भएपनि एक अर्काप्रति धारेहात लगाउने र सत्तो सरापमा लाग्दा अब गणतन्त्रको जिम्मा कसले लिने ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्