महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह र सम्बन्धित वडाका वडाध्यक्ष श्यामराजा सिंह र काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन् ।
बर्दिबास-५ का ६८ र बर्दिबास(२ का २४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
बर्दिबास–२ बँदेलखाडीकी ८० वर्षीया भीममाया आले दङ्ग छन् । आफ्नै घर भएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउँदा खुसी लागेको उनले बताइन् । ‘यही जग्गाको कागज पाऊ भनेर दौडादौड गर्दागर्दै श्रीमान्को निधन भयो । आज मैले पाएँ’ आलेले भनिन्, ‘अबचाहिँ घर आफ्नै जग्गामा भएको निस्सा भयो ।’
श्रीमान कबिरमान आलेले ६० वर्षअघि बनाएको घरको जग्गा लालपुर्जा पाउँदा उहाँको सङ्घर्षको प्रतिफल पाएको अनुभूति भइरहेको उनको भनाइ छ ।
बर्दिबास–५ ढुङ्गेकी ७० वर्षीया बुद्धिमाया आले पनि घरबासको जग्गाको लालपुर्जा पाउँदा खुसी छन् । स्वर्गीय श्रीमान् खड्कबहादुर आलेको मेहनत अहिले ५० वर्षपछि साकार भएको बुद्धिमायाले बताइन् । जग्गाधनी प्रमाणपुर्जा पाउने ९२ जनामध्ये ८० भन्दामाथि मगर समुदायका छन् ।
घरजग्गाको लालपुर्जा पाएसँगै आफूपनि जग्गाधनी भएको बर्दिबास–५ का ७५ वर्षीय बुद्धबहादुर थापा मगरले बताए । हातखुट्टा पक्षघातले सुकाएर हिड्डुलमा समस्या भोग्दै आएका उनले लालपुर्जा पाउँदा सबै शारीरिक कष्ट बिर्सेको प्रतिक्रिया दिए ।
आफू शारीरिक रूपमा अशक्त भए पनि घरजग्गाको लालपुर्जा पाउँदा खुसीले नाच्न मन लागेको उनको भनाइ छ । आफ्नो भनेर निस्सा देखाउने जग्गा कतै नभएका बेला थोरै भए पनि स्वामित्व दिँदा हर्षित भएको मगरले बताए ।
जिल्ला नापी कार्यालयले बर्दिबास-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नगरप्रमुख क्षत्रीले उल्लेख गरे । पाँच दशक पहिलेदेखि भोगचलन गर्दै आएका घरबासीको जग्गा नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ ।
‘हामीले सम्बन्धित वडाध्यक्षको रोहबरमा जग्गा नापजाँच गरी प्रमाणपुर्जा बनाएका हौँ’ नापी कार्यालय प्रमुख सिंहले भने, ‘जिल्लाभरि गाउँका घरबासी जग्गाका जग्गाधनी प्रमाणपुर्जा क्रमश: वितरण गर्दै आइएका छौँ, यो क्रम जारी रहन्छ ।’ उनका अनुसार ती वितरण भएका जग्गाधनी प्रमाणपुर्जा सबै घरबास जग्गा हुन् ।
जिल्लाका सबै स्थानीयतहका वडा तथा बस्तीमा क्रमश: बसोबासका आधार र जग्गा भोगचलनका आधारमा घरजग्गाको नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिरहेको प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार वितरण गरिएका प्रमाणपुर्जा तीन धुरदेखि १० धुर क्षेत्रफलसम्मका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्