Skip to content
Shikhar Insurance
National Life

भूकम्पले क्षति पुर्‍याएको गोरखा अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण

Hyundai
NCELL
NIMB

गोरखा । भीमसेन थापा गाउँपालिका–६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण भएको छ । वि.सं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको वडा कार्यालय भवन पुनर्निर्माण भएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिएका हुन् ।

गाउँपालिकाद्वारा विनियोजित ८८ लाख ६२ हजारको लागतमा भवन पुनर्निर्माण गरिएको उनले बताए । ‘नवनिर्मित भवनमा छवटा कोठा र दुईवटा शौचालय रहेको छ’, उनले भने ‘अबदेखि नागरिकलाई सेवा प्रवाहमा थप सहज हुने भएको छ ।’

आफ्नै भवन नहुँदा यसअघि स्थानीय महिला समूहको भवनबाट वडाले सेवा दिँदै आएको थियो । वडाको भवन निर्माणका लागि वि.सं २०७९ जेठमा गाउँपालिकाले शिव इन्जिनियरिङ प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।

‘दोस्रोपटक म्याद थप गरेर वि.सं २०८१ असोजभित्र काम गर्नुपर्ने थियो, बल्ल भवन निर्माण भयो, नवनिर्मित भवनबाट सेवाप्रवाह पनि सुरु गरिएको छ’, उनले भने । महिला समूहको भवनमा बर्खाका बेला पानी चुहिने समस्याले कागजपत्र जोगाउन वडालाई समस्या हुँदै आएको थियो ।

‘साँघुरो भवनको एउटै कोठाबाट कृषि, पशु, तथा प्राविधिक एवं पञ्जीकरणलगायत सेवा दिन निकै कठिन हुँदै आएको थियो’ वडाध्यक्ष रिमाललेभने ‘अबदेखि ती सबै समस्याबाट मुक्त भएका छौँ ।’ भवन निर्माण भए पनि वडालाई सभाहलको अझै अभाव छ ।

उनले भने ‘सभाहल निर्माणका लागि पनि आवश्यक पहल गरिसकेका छौँ, जिल्ला समन्वय समितिमार्फत सिफारिस भइसकेको छ भने भवनको माथिल्लो तलामा दुई कोठासहित एक सभाहल बनाउने लगभग निश्चित भइसकेको छ ।’

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्