काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको हो ।
विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने भएको छ ।
मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने र मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने नीति लिइएकोमा सोही अनुरुप चालु आर्थिक वर्षको ९ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ ।
चालु खाता तथा शोधनान्तर बचत उच्च रहन गएका कारण विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि भएको छ । कम्तिमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ चैत मसान्तमा करिव १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम रहेको छ ।
विश्वको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.३ प्रतिशत रहेकोमा सन् २०२५ मा २.८ प्रतिशतमा खुम्चने प्रक्षेपण रहेकोछ । पछिल्लो समय विकसित व्यापार नीति र भन्सार महशुलका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले २०२५ जनवरीको तुलनामा २०२५ अप्रिलको आर्थिक वृद्धिकोप्रक्षेपण ०.५ प्रतिशत बिन्दुले घटाएको छ ।
सन्२०२४ मा १.८ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन्२०२५ मा १.४ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२४ मा ४.३ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन्२०२५ मा ३.७ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । सन्२०२४ मा भारत र चीनको अर्थतन्त्र क्रमश: ६.५ प्रतिशत र ५.० प्रतिशतले विस्तार भएकोमा सन्२०२५ मा क्रमश: ६.२ प्रतिशत र ४.० प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।
प्रतिक्रिया दिनुहोस्