काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले जेठ २० गते एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब १४ करोड २ लाख रुपैयाँ ब्याजमा लगानी गर्ने जनाएको हो ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ४७ करोड १० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १५ करोड ७० लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको जनाएको छ ।
जुन १७, २०२५ देखि जुन १७ २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई जुन ५ गतेभित्र ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ । उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने बैंकले जनाएको छ ।
त्यस्तै, निष्कृय कर्जा ९एनपीएल० कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा ९नेट एनपीएल० अनुपात ३ प्रतिशत ननाघेको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ । खुद तरल सम्पत्ति अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार कर्जा निक्षेपको अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको र बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारवाहीमा परेको भए यस्तो कारवाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनु पर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्