काठमाडौं । अब गैर आवासिय नेपाली(एनआरएन)हरुलाई ८ अर्ब ५० करोड रुपैयाँको आईपीओ जारी गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले एनआरएनहरुले विदेशी लगानी स्वीकृत गरेर नेपाली रुपैयाँमै बैंक खाता खोल्न पाउने सुबिधा दिएसँगै एनआरएनहरुका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने बाटो खुला भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै गैरआवासिय नेपालीहरुलाई विदेशी लगानी स्वीकृत गरि नेपाली रुपैयाँमै बैंक खाता खोलेर ल्याउने पाउने सुबिधा उपलब्ध गराएको छ । यसअघिसम्म विदेशी लगानी विदेशी मुद्रा(डलर)मै ल्याउनुपर्ने र डलर खातामै राख्नुपर्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले नयाँ व्यवस्थामा भनेको छ–‘विदेशी लगानीकर्ताले खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धी व्यवस्था: (१) विदेशी लगानीको स्वीकृतिप्राप्त विदेशी लगानीकर्ताले विदेशी लगानी सम्बन्धी रकम नेपाली बैंक तथा वित्तीय संस्थामा परिवत्र्य विदेशी मुद्रा वा नेपाली रुपैयाँको खाता खोली जम्मा गर्न सक्नेछन । (२) विदेशी लगानी बापत आर्जित रकम र लगानी फिर्ताको रकम सम्बन्धित विदेशी लगानीकर्ताको नेपाली बैंक वित्तीय संस्थामा खोलिएको ने.रु. खातामा जम्मा गर्न सकिनेछ ।’
यस अघि नै धितोपत्र बोर्डले एनआरएनहरुलाई नेपाली रुपैयाँकै खाताबाट आईपीओ भर्न पाउने सुबिधा दिएको थियो । राष्ट्र बैंकले विदेशी लगानी विदेशी मुद्रामै हुनुपर्ने नियम राखेकाले एनआरएनहरुलाई नेपालको पुँजी बजारमा लगानी गर्न असहज भएको थियो ।
एनआरएनहरुको अगुवाईमा स्थापना भएको नेपाल डेभलपमेन्ट फण्ड(एनडीएफ)मा एनआरएनहरुका लागि बिशिष्टकृत आईपीओ जारी गर्ने भनिएको छ । सो आईपीओमा आवेदन दिनका लागि नेपाली रुपैयाँकै खाता र आश्वा सदस्यता आवश्यक पर्छ । एनआरएनहरुले मात्रै आवेदन दिन पाउने आईपीओका लागि फण्डले नेपाली रुपैयाँमै खाता खोल्न सक्ने र प्राप्त मुनाफा पनि नेपाली रुपैयाँकै खातामा राख्न पाउने व्यवस्थाको माग गरिरहेका थिए । नेपाल डेभलपमेन्ट फण्डका सीईओ अनलराज भट्टराईले अब एनआरएनहरुलाई वैदेशिक लगानी स्वीकृत गरेर नेपाली रुपैयाँमै खाता खोल्ने सुबिधा प्राप्त भएको र प्राप्त नाफा पनि नेपाली रुपैयाँमै रहने भएकाले त्यस्तो प्रतिफल सहजै विदेश नजाने भएकाले देशको विकासमा ठूलो सहयोग पुग्ने बताए ।
एनआरएनहरुले १० अर्ब चुक्ता पुँजीको एनडीएफ खडा गरेका छन् जसमा पाँच प्रतिशत लगानी नेपाल सरकारको रहेको छ । एनआरएनहरुलाई १० अर्ब चुक्ता पुँजीको ८५ प्रतिशतले हुने ८ अर्ब ५० करोड रुपैयाँको आईपीओ जारी हुनेछ, जसमा एनआरएनहरुले मात्रै आवेदन दिन पाउनेछन् । केहि समयभित्रै त्यस्तो आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिने पनि सीईओ भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्