काठमाडौं । राष्ट्रिय स्वतत्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आर्थिक वर्षको अन्त्यतिर संसदीय समितिले अनुगमन र भ्रमण गर्न नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै कार्यवाहक सभापति अर्यालले यस्तो धारणा राखेका हुन् ।
समाजमा बजेट सक्नको लागि ‘असारे भ्रमण’ गर्ने प्रवृत्तिमाथि प्रश्न उठ्ने गरेको उल्लेख गर्दै असार महिनामा अनुगमन र भ्रमणका कार्यक्रमहरु गर्न नहुने उनको भनाइ छ । उनले बजेट सक्नको लागि मात्र नभई अनुगमन र भ्रमण समयसापेक्ष र योजना अनुसार हुनुपर्ने बताउँदै समितिले सुनुवाई प्रक्रियाको प्रभावकारितालाई बढाउनुपर्नेमा समेत जोड दिए ।
भ्रमणको सट्टा पूर्वराजदुत र न्यायाधीशहरूसँगको अघिल्लो सुनुवाईमा व्यक्त प्रतिवद्धता कार्यान्वयन भए/नभएको समिक्षा गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘असारे बजेट भन्ने बहस जुन समाजमा चलिरहेको छ । हामी पनि अनुगमनका लागि असारमै पुगेको अवस्था भएको कारणले बजेट सक्नको लागि अनुगमन र भ्रमण गर्न थाले भन्ने प्रश्न आउने कुरा पनि एउटा चिन्ताको विषय हो । यदि भ्रमण गर्नु नै छ भने हामीले योजना बनाएर अगामी वर्षमा गर्नसक्छौं । यो वर्ष हामी के गर्नसक्छौँ त्यो हेरौँ ।’
‘समितिका कामहरु समयमै गरौँ, तोकिएकै शीर्षकमा गरौँ । हामी के का लागि गइरहेका छौँ ? कहाँ गइरहेका छौँ ? र त्यसबाट के उपलब्धि हुन्छ ? यो समयमा हामी कतै नजाउँ । हामीले पहिले सुनुवाई गरेका पूर्वराजदुतहरु, न्यायाधीहरुसँग सुनुवाई गर्दाखेरी आफ्नो कार्यकालमा गर्ने जुन प्रतिवद्धता थियो त्यो गर्नुभयो कि भएन ? कति गर्नुभयो ? के कुराले समस्याहरु भयो भन्ने कुरा राखौँ , यसले हामीलाई भोलिको दिनमा पाि सुनुवाई गर्न सजिलो हुन्छ’ उनले उल्लेख गरे ।
उनले वर्तमान समयमा अनावश्यक भ्रमणभन्दा समितिको जिम्मेवारीमा केन्द्रित भई समितिको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्