काठमाडौं । नेपाली काँग्रेसकी सांसद सीता मिजारले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संघीय संसद भवनको प्रगति सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद मिजारले यस्तो बताएकी हुन् ।
उनले २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको संसद भवन निर्माण आयोजनाको चौथोपटक म्याद थप हुँदा समेत जम्मा ८६ प्रतिशत मात्र भौतिक प्रगति भएको उल्लेख गरिन् ।
उनले संसदजस्तो संवैधानिक निकायको भवन निर्माणको अवस्था चिन्ताजनक रहेको भन्दै देशका अन्य भूभागमा निर्माणाधिन आयोजनाहरुको अवस्था कस्तो होला ? भन्दै प्रश्न गरिन् । उनले निर्माणाधिन भवन निर्माणमा भएको सुस्तताको जिम्मेवारी कसले लिने हो ? भन्ने स्पष्ट जवाफ पनि माग गरिन् ।
उनले भनिन्, ‘सिंहदरबारको हाताभित्र २०७९ मा सम्पन्न गर्नेगरी निर्माण प्रारम्भ भएको संघीय संसद भवन निर्माण आयोजनाको हालसम्म चौथो पटक म्याद थप हुँदा समेत ८६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सबैको नजर पर्ने स्थानमा निर्माण भइरहेको र पटक पटक राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र संसदीय समितिले समेत अनुगमन र निरिक्षण गर्नुभएको यो आयोजनाको अवस्था एकदमै नाजुक छ । देशका अन्य भूभागका आयोजनाहरुको अवस्था कस्तो होला ? सभामुख महोदय यस्तो अवस्था कहिलेसम्म कायम रहन्छ ? र यसको जिम्मेवार को हुने हो ? यसको स्पष्ट जवाफको म माग गर्दछु ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम शुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसदका १२ वटा भवन निर्माण हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस्