Shikhar Insurance
National Life

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ९, शुक्रबार ११:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब छ करोड पुगेको हो ।

‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ । हालसम्मको कुल सार्वजनिक ऋण जिडिपी अनुपातमा ४५.७७ प्रतिशत हुनआउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८७ र आन्तरिक ऋणको हिस्सा ४९.१३ प्रतिशत छ । माघ मसान्तसम्ममा आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण दायित्व १३ खर्ब २८ अर्ब २५ करोड छ । विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै यो अवधिमा ३६ अर्ब ५९ करोड ऋण दायित्व थपिएको कार्यालयले जनाएको छ ।

सरकारले चालु आवका लागि  पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । हालसम्म दुई खर्ब ९० अर्ब ५७ करोड ऋण उठिसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५३ दशमलव १२ प्रतिशत हो ।

चालु आवमा तीन खर्ब ३० अर्ब आन्तरिक र दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य छ । माघ मसान्तसम्ममा आन्तरिकतर्फ दुई खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ ६१ अर्ब ४२ करोठ ऋण उठिसकेको छ । वार्षिक लक्ष्यका आधारमा हालसम्मको प्राप्ति आन्तरिकतर्फ ६९ प्रतिशत र बाह्यतर्फ २८ दशमलव ३१ प्रतिशत बराबर हो ।

त्यस्तै, ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षमा चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ । पछिल्लो सात महिनामा १ खर्ब ७८ अर्ब ७५ करोड साँवाब्याज भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कूल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्मको ऋण सेवा खर्च ३.३१ प्रतिशत हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्